जनगणनामा समावेश नहुने पहिचान विहीन रहेका कायत समुदायको घोषणा

आदर्श अनलाइन, बागलुङ
पहिचान विहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्था गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुँने बागलुङका कायत समुदायले निर्णय गरेका छन् ।

कायत समुदाय पहिचान विहीन बन्दा सबै सेवा सुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो गरेका छन् । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि यहाँका नौथर समुदाय भित्रका कायत समुदाय पहिचान विहीन बनेको र हालसम्म राज्यले कुनै सुनुवाई नगरेका कारण जनगणनामा समावेशन नहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष निम बहादुर कायतले जानकारी दिनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरू उपेक्षामा परेको बताउँदै विरोध स्वरुप जनगणनामा समावेश नहुने कायत समुदायले निर्णय गरेका छन् ।

‘हामीलाई राज्यले बेवास्ता ग¥यो, पटक–पटक नगरपालिका र जिल्ला प्रशासनमा पहिचानका विषयमा मुद्दा उठाएपनि सुनुवाई नभएका कारण राज्यले हामीलाई बेवास्ता गरेका कारण राज्यको तथ्याङ्कमा समावेश नहुने कायत समुदायले निर्णय गरेका छौं’ निम बहादुर कायतले भन्नुभयो ‘जातको पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ, तर राज्यले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि हामी थोरै भएकालाई पहिचान दिएको छैन ।’

अहिले नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी रहेको छ । तीन वर्ष अघि कायत समुदायको पहिचानको विषयमा संघीय संसदमा समेत कुरा उठेपनि छलफल हुँन सकेको थिएन । राज्यले पहिचान बिहिन बनाएका कारण कायत समुदायले जनगणनामा समावेश नुहँुने जनाएको छ ।

जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचान विहीन बन्दा रोजगारीसमेत पाउन मुश्किल भएको स्थानीय विश्वास कायतले जानकारी दिनुभयो ।

विश्वास कायतले जनगणनामा मात्रै हैन आगमी दिनमा कायत समुदायले मतदान समेत नगर्ने अवस्थामा पुगको जानकारी दिनुभयो । ‘आगमी दिनमा जनगणना मात्रै हैन, निर्वाचनमा समेत मतदान नगर्ने कुरा भएको छ’ ‘विश्वास कायतले भन्नुभयो ‘पहिचानको मुद्दा निरन्तर उठाइ रहे पनि कतैबाट सुनुवाइ नभएपछि यस्तो निर्णयमा पुगेका हौं ।’

ढोरपाटनमा कायत समुदायका ८० घर रहेका छन् । उनीहरुले कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा राजयले सूचिकृत गर्नुपर्ने बताउदै आएका छन् । तर कतिपयले सेवा सुविधा र रोजगारीका लागि कायत समुदाय जनजाती त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन् ।

कतिपयले कायत समुदायलाई जनजातिभित्र रहेको भन्दै आए पनि उनीहरूको आफ्नै भाषा संस्कृति र उद्गमथलो नभएका कारण जनजातिभित्र नपर्ने बताउदै आइरहेका छन् । तीन वर्ष अघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचिकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको भएपनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन् ।

नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथरभित्रका समुदाय समेत लोप हुने अवस्थामा रहेका छन् । कायतलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्माको भनाई छ । जनगणनामा समावेश भएपछि मात्रै अधिकार पाइने भएकाले बहिस्कार गरेर समस्याको समाधान नहुने जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो ।

‘अघिल्लो पटक कायतको सट्टा कायस्थ भएकाले जनगणनामा समावेश हुनुभएको रैनछ’ शर्माले भन्नुभयो ‘कायस्थ अर्कै जाती हो, कायत अर्कै हो, कायतलाई कायतनै दर्ता गराउने जिम्मा हाम्रो हो, तथ्याङ्कमा समावेश भएपछि मात्रै राज्यको अधिकार पाइन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *