राष्ट्रिय सहकारी महासंघले सदस्य संघहरुलाई सक्रिय बनाउने

आदर्श अनलाइन, बागलुङ
नेपालको सहकारी क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले सञ्चालनमा नरहेका सहकारी संघहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ । महासंघमा आवद्ध रहेका सहकारी संघहरुको वस्तुगत स्थिति अध्ययन गरी सक्रिय हुन प्रेरित गर्ने महासंघले योजना अगाडि बढाएको छ ।

महासंघको बुधबार बसेको संचालक समितिको बैठकले सातै प्रदेशमा रहेका संघहरुको वस्तुगत अवस्था अध्ययन गरी सवल बनाउन सहयोग गर्ने निर्णय गरेको हो । बागमती प्रदेशमा रहेका सदस्य संघहरुको बस्तुगत स्थिति अध्ययन गरी प्रतिवेदन समेत आइसकेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा बसेको बैठकले अन्य ६ प्रदेशका सदस्य संघहरुको अध्ययन गरी अर्काे बैठकमा प्रतिवेदन पेश गर्न सम्बन्धित प्रदेश महासंघले गठन गरेको प्रदेश समन्वय उपसमितिका संयोजकहरुलाई जिम्मेवारी दिइएको छ ।

महासंघमा प्रदेशबाट निर्वाचित सञ्चालकहरु प्रदेश संयोजक रहेको प्रदेश समन्वय उपसमितिले अध्ययन गरी दिएको प्रतिवेदनका आधारमा सदस्य संघहरुलाई सवल बनाउन आवश्यक कार्यहरु गर्ने, संघहरुको सक्रियताका लागि विषय मिल्ने संघहरुको एकीकरणमा पहल गर्ने निर्णय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । आवश्यक पहल गर्दा समेत संघहरु निस्कृय भएमा महासंघको सदस्यता खारेजी गर्नका लागि समेत आवश्यक प्रक्रिया अवलम्बन गर्ने निर्णय महासंघले गरेको छ ।

बैठकले महासंघको तीन बर्षे व्यवसायीक योजना समेत पारित गरेको छ । महासंघको संचार रणनीति अनुरुप प्रत्येक वर्ष पुस २७ गते वार्षिक साधारण गर्ने योजना अनुसार महासंघको २९ औं बार्षिक साधारण सभा २०७८ पुस २७ गते गर्ने काठमाडौंमा गर्ने निर्णय भएको महासंघका सञ्चालक तथा गण्डकी प्रदेश समन्वय उप–समितिका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

बैठकले वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको संयोजकत्वमा पदपुर्ती उपसमिति, उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विनियम संशोधन उपसमिति र संचालक टेकप्रसाद चौलागाईको संयोजकत्वमा पुरस्कार छनोट उप–समिति समेत गठन गरेको सञ्चालक जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *