आदर्श अनलाइन, काठमाडौँ
तीन दिनयता पोखरा, काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे ।
यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन । अब कहिलेबाट माैसममा सुधार हुन्छ ? माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरलाई हामीले सोध्यौ ।
जवाफमा उहाँले भन्नुभयो, ‘निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।’ हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उहाँले बताउनुभयो ।
बिहान हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ । ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उहाँले भन्नुभयो, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’
बिहान गण्डकी प्रदेशसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमतीमा बदली छ । दिउँसो गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।