मुस्ताङमा प्रदेश प्रहरी प्रमुख लोहनीले गरे प्रहरीको भौतिक संरचना उद्घाटन

आदर्श अनलाइन, जोमसोम

दुर्गम हिमाली जिल्ला मुस्ताङमा प्रहरीको भब्य आधुनिक भौतिक संरचना निर्माण भएको छ । मुस्ताङमा प्रहरीको भौतिक संरचना निर्माणका लागि संघ तथा प्रदेश सरकार मार्फत बजेट बिनियोजन भएपछि प्रहरीको दैनिक कार्यसम्पादन सहज भएको छ ।

संघीय सरकारबाट बिनियोजन जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी जवान देखि जुनियर प्रहरी बस्ने आवास तथा भान्साघर निर्माणका लागि ३ करोड ४२ लाख र प्रहरी नायब उपरिक्षक,प्रहरी निरीक्षकको आवास तथा भान्साघर निर्माणका लागि १ करोड ३३ लाख बजेट बिनियोजित भएको थियो ।यस्तै,संघीय सरकारबाटै प्राप्त २ करोड ९ लाख बजेटबाट प्रहरी चौकी घासाको कार्यालय कक्ष,शौचालय ,पुरुष÷महिलाको लागि अलग÷अलग हिरासत कक्ष र त्यहा कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघर निर्माण भएको हो ।

उत्तरी चिनसंग सीमाना जोडिएको लोमान्थाङ गाउपालिका—५ लोमान्थाङमा सीमा प्रहरी चौकीको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारबाट बिनियोजित ३ करोड ७ लाख बजेटबाट लोमान्थाङमा सीमा प्रहरी चौकीको भौतिक संरचना निर्माण भएको हो । मुस्ताङको जोमसोम—घासा—लोमान्थाङमा निर्माणको जिम्मा सन्त निर्माण सेवाले लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घासा प्रहरी चौकी र सीमा प्रहरी चौकी गरी ४ वटै प्याकेजको भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरेको प्रहरी नायब उपरिक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिए । मुस्ताङमा प्रहरीको भौतिक संरचना निर्माण भएसंगै प्रहरीको कार्यसम्पादनमा सहज हुने अपेक्षा गरिएको छ । यस्तै ३ वर्षअघि जिल्ला प्रहरी कार्यालयको कार्यालय भवन तथा हिरासत कक्ष संघीय सरकारकै बजेटबाट निर्माण भएको थियो ।

मुस्ताङमा प्रहरीको आधुनिक भौतिक संरचना नहुँदा कार्यालयमा कार्यरत प्रहरीको दैनिक जिवन कष्ठकर हुनुको साथै कार्यसम्पादनमा समेत असहज अवस्था रहेको थियो । ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचना हुँदा प्रहरीलाई काम गर्न अप्ठ्यारो पर्ने र हिउँदयाममा हिमपात हुँदा बिभिन्न समस्या पर्ने गरेको थियो ।लोमान्थाङमा पनि प्रहरीको जीर्ण भवन हुँदा त्यहाँ कार्यरत प्रहरीलाई असहज अवस्था बनेको थियो भने थासाङको घाँसामा लामो समय देखि प्रहरी चौकी ब्यक्तिको घरमा भाडामा बस्दै आईरहेको थियो ।मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा ईकाई मध्ये दुई वटा ईकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरिक्षक रामकुमार दानीले उल्लेख गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख एंव प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले शनिबार जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भौतिक संरचनाको उद्घाटन गरे । यस्तै, उनले शनिबार प्रहरी चौकी घाँसाको भौतिक संरचनाको उद्घाटन गर्ने जनाएको भने आईतबार सीमा प्रहरी चौकी लोमान्थाङको नवनिर्मित भौतिक संरचनाको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीको नवनिर्मित भौतिक संरचना उद्घाटनका क्रममा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख एंव प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले प्रहरी प्रधान कार्यालयले प्रहरीको भौतिक संरचना निर्माण क्रमिक रुपले राम्रो बनाउने उद्देश्य अनुसार काम भईरहेको बताए ।‘ हिजोका दिनमा केन्द्रबाट मात्र बजेट बिनियोजन हुन्थ्यो,अब प्रदेश सरकारबाट पनि पूर्वाधार निर्माणमा बजेट बिनियोजन भईरहेको छ ,प्रदेश प्रहरी प्रमुख लोहनीले भने,‘ प्रहरी पूर्वाधार निर्माणमा बजेट आउन थालेपछि पूर्वाधार निर्माणको कामले गति लिन थालेको छ ।’ प्रदेश प्रहरी प्रमुख लोहनीले प्रदेश सरकारले एक प्रहरी एक खाटको अवधारणा लिएको र सो अनुसार प्रदेशका सबै प्रहरीलाई खाटको ब्यवस्था भएको जानकारी दिए ।


पछिल्लो समय प्रहरीको भौतिक संरचना र जग्गा समेत आधुनिक बन्दै गईरहेकाले गर्दा प्रहरीको सुविधा मात्र नभई काम गर्ने वातावरण निर्माण भईरहेको प्रदेश प्रहरी प्रमुख लोहनीले उल्लेख गरे । भौतिक संरचना उद्घाटनका क्रममा प्रदेश प्रहरी प्रमुख लोहनीले समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार प्रहरीहरु जनउत्तरदायी ढंगले कार्यसम्पादन गर्न मुस्ताङमा कार्यरत प्रहरीहरुलाई निर्देशन दिए । यसअघि प्रदेश प्रहरी प्रमुख लोहनीले जिल्ला प्रहरी कार्यालय भवनको नवनिर्मित भौतिक संरचनाको निरीक्षण गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *