दोहोरी प्रतिष्ठानको महाधिवेशन तयारी पुरा,चुनावको सम्भावना प्रवल

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भोली शुक्रवारदेखि गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा हुने सातौ महाधिवेशनको तयारी पुरा भएको छ ।

प्रतिष्ठानले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सबै तयारी पुरा भएको जनाएको छ ।

महाधिवेशनमा ५८ जिल्ला, विदेशका ८ र काठमाण्डौ उपत्यका सहित प्रदेशका ८ शाखाबाट १ हजार ३ सय १० जना प्रतिनिधिको सहभागीता रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले आदर्श अनलाइनलाई बताउनुभयो । महाधिवेशनको उद्घाटन सत्र पोखरा नयाँबजारको प्रर्दशनी केन्द्रमा हुनेछ भने बन्द सत्र पोखरा सभागृह हलमा गरिनेछ ।

उद्घाटन सत्र अगाडी पोखराको चिप्लेढुङ्गाबाट नयाँबजारसम्म झाकी सहितको र्याली समेत आयोजना हुनेछ ।

महाधिवेशनमा प्रतिनिधिको अलावा विभिन्न क्षेत्रका ३ सय पर्यवेक्षकको सहभागिता रहनेछ । मंसिर ८ गतेसम्म पोखरामा हुने महाधिवेशन मार्फत नयाँ नेतृत्व समेत चयन हुनेछ । सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम रहेको अध्यक्ष पंगेनीले पत्रकार सम्मेलनमा बताउनुभयो । ‘हामीले नेतृत्वमा सहमती गर्न भनेर विगत चार महिनादेखि लगातार प्रयास गरेका थियौ, अब नेतृत्वमा सहमती हुने सम्मभावना कम छ, तर प्रयास भने रोकिएको छैन’ उहाँले भन्नुभयो ।
महाधिवेशनमा चुनावको सम्भावना प्रबल भएको जनाउदै यसपालिको निर्वाचनलाई व्यवस्थित बनाउन फोटो सहितको नामावलीलाई प्रयोगमा ल्याउने तयारी प्रतिष्ठानको छ ।

सातौँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि रमेश विजी र विष्णु खत्री बिच प्रतिष्पर्धा हुने देखिएको छ । गायिका पार्वती जिसीले समेत अध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ । रमेश विजिलाई सर्वसम्मत अध्यक्ष बनाउने र विष्णु खत्रीलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको भएपनि सर्वसम्मत हुने सम्भावना कमजोर बन्दै गएको स्रोतको दावी छ ।

नेतृत्व तथा पदाधिकारी र कार्यसमितिका दावेदारहरुले भेटघाट र छलफललाई तिव्रता दिएका छन् । सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्ने र मत माग्ने क्रम समेत सुरु भएको छ । महाधिवेसनबाट कुल ५५ सदस्यिय कार्यसमिति चयन हुनेछ । महाधिवेशन सम्मपन्न गर्न झण्डै ७६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *