बागलुङ नगरका नौ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

आदर्श अनलाइन, बागलुङ

नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका ९ वडामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो ।

नगरका १४ वडामध्ये बाँकी रहेकामा केही दिन भित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटिका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहेको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं. २ मा सुर्य महतको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको छ ।

सचिवमा विवेक जिसी रहनुभएको छ । ४ मा बिजुली केसी अध्यक्ष र शिव शर्मा सचिव रहेको २१ सदस्यीय वडा कमिटि चयन भएको छ । ६ मा भवानीशंकर सापकोटाको अध्यक्षतामा २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको छ ।

सचिवमा शान्ता नेपाली रहनुभएको छ । ५ मा टेकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय, ८ मा टोपबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय, ९ मा टीकाराम पौडेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी चयन भएको छ ।

यस्तै वडा नं. १३ पैँयूपाटामा रेशम केसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष केसीले बताउनुभयो । उक्त कमिटीको सचिवमा भीमप्रसाद रेग्मी रहनुभएको छ । वडा नं. १२ अमलाचौरमा परमानन्द शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन भएको छ । सचिवमा दुर्गा विक रहनुभएको छ ।

पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताउनुभयो । व्यवस्थापकीय तयारी नपुगेका कारण आज हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उहाँको भनाइ छ । जिल्लामा ८५ वडा छन् ।

वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *