धर्मको आडमा अवैध कर्म र विवाद

सम्पादकीय
धर्ममा ठूलो शक्ति छ । धर्मले मानिसलाई असल, परोपकारी मात्रै बनाउदैन, समाजलाई सभ्य पनि बनाउछ । त्यसैले धर्ममा सामान्य नागरिकको मात्रै होइन, ठूला ठूला नेता, मन्त्री, सांसदहरुको पनि चरम आशक्ति छ । धार्मिक गुरुहरुको नेतृत्व र आगमनमा कैयन कार्यक्रम भइरहेका छन्, जहाँ नेपालका धर्मलाई अफिम ठान्ने कम्युनिष्ट पार्टी र नेताहरु समेत नतमस्तक हुन्छन् । यसकै बल र छत्रछायामा धर्मको आवरणमा कैयन अवैध कर्म भइरहेका छन् । त्यसमा राज्य, तीनका निकाय र नेताहरु पनि साक्षी बसिरहेका छन् । यो नेपाली समाजका लागि बिडम्वना हो ।

अहिले बाबा रामदेव फेरि एकपटक चर्चा र विवादमा छन् । भर्खरै नेपालमा दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ खोलेर उद्घाटन त गरे तर, दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरेको भन्दै उनी विवादमा तानिएका छन् । यद्यपि, रामदेव विवादमा मुछिएको यो पहिलो घटना होइन । कुनै समय थोत्रो साइकलमा च्यवनप्रासको व्यापार गर्ने बाबा रामदेव अहिले अर्बौँको सम्पत्तिका मालिक छन् । रामदेव माथि अनेकन आरोप छ । औषधिमा जनावर र मानिसको हड्डीको धुलो मिसाएको आरोप लाग्यो । सन् २००६ मा कम्युनिष्ट पार्टीका नेता वृन्दा करातले बाबा रामदेवमाथि उनको फार्मेसीमा बन्ने औषधिहरूमा जनावर र मानिसका हड्डीको धुलो मिसाउने गरेको गम्भीर आरोप लगाइन् । यस मामिलालाई लिएर ठूलै विवाद भयो । बाबा रामदेव र वृन्दा करातबीच लामो समयसम्म आरोप–प्रत्यारोपको क्रम जारी रह्यो । यतिमात्रै होइन, रामदेवले धेरैपटक ‘समलैंगिकता एक रोग हो र आयुर्वेदमा यसको उपचार छ’ भनेर विवादास्पद अभिव्यक्ति दिए । रामदेवका गुरु र दिव्य योग मन्दिर ट्रस्टका मालिक स्वामी शंकरदेव १४ जुलाई २००७ मा हरिद्वारको कनखल आश्रमबाट रहस्यमय तरिकाले गायब भए । यसपछि १६ जुलाईमा दिव्य योग मन्दिर ट्रस्टले पुलिसमा उजुरी दर्ता गरायो । तर, वर्षौँसम्म चलेको जाँचको नतिजा आएन । बाबाले सन् २००८ मा आधुनिक चिकित्साको अभ्यास गर्ने डाक्टर विरुद्ध टिप्पणी गरे । उनले डाक्टरहरू रोगका प्रचारक भएको भन्दै तिखो शब्द प्रहार गरे । यसको निकै ठुलो आलोचना भयो । रामदेवको कालोधनलाई लिएर दिल्लीमा धर्ना भयो । बालकृष्णको फर्जी पासपोर्ट काण्डले बाबा रामदेवको इज्जतमै कालो पोत्यो । बाबाका खास सहयोगी रहेका बालकृष्णमाथि नक्कली डिग्री बनाएको आरोप समेत लाग्यो । फर्जी पासपोर्ट मामिलामा अदालतले १२ जुलाई २०१२ मा आचार्य बालकृष्णविरुद्ध गैर जमानती वारेन्ट जारी गरिदियो । त्यही दिन सीबीआईले आचार्य बालकृष्णलाई हरिद्वारबाट पक्राउ ग¥यो । एकै दिन रामदेवविरुद्ध ८१ मुद्दा दर्ता समेत भयो ।

रामदेवको पहलमा स्थापित दर्ता नै नगरिएको टेलिभिजन त्यो पनि देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने विषय ठूलो लज्जाको विषय हो । धर्मका पछाडि यस्ता कैयन अवैध कर्म भएका छन्, जसमा राज्यले नियमानुसार कारबाही समेत गर्न सक्दैन । उनीहरुका सामु राज्य र यसका निकाय निकम्मा जस्ता हुन्छन् । सरकारका जिम्मेवार मानिसहरु कुनै कार्यक्रममा जाँदा त्यसका बैधानिक पाटोमा किन गम्भीरतापूर्वक बुझ्दैनन् ? धर्म या यस सँग जोडिएका धर्म गुरुहरुले गरे भन्दैमा राज्यका निकाय किन आँखा चिम्लन्छन् ? देशका नियम कानुन किन सबैका लागि एकै हुँदैनन् ? यी र यस्ता विषय गम्भीर हुन् । यसमा राज्य र यसका निकायले समयमै यथोचित कदम चाल्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *