एमाले महाधिवेशन, चर्चा र अपेक्षा

सम्पादकीय
संसदको सबै भन्दा ठूलो दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । चितवनको सौराहामा हुने महाधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले महाधिवेशन तर्फ चौतर्फी चासो र रौनकता देखिन्छ । एमालेले यस महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख बढी नेता, कार्यकर्ता र नागरिक उतार्ने उद्घोष गरेको छ । करिब दुुई तिहाई बहुमतको सरकारको सुविधामा भएकै बेला पार्टी बिभाजनको दुखान्त पीडा भोगेको एमालेका लागि यसर्थ पनि महाधिवेशन विशेष छ कि कस्तो शक्ति प्रदर्शन गर्छ ? नेतृत्व चयन के कसरी गर्छ ? समग्रतामा एमाले बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी बने पश्चात बिभाजनको असर कति पर्दछ भन्ने ढंगले हेरिएको छ ।

एमालेमा विगतका महाधिवेशनमा दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिने गरे पनि यसपटक केही भिन्न परिदृश्य देखिएको छ । वर्तमान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलि अध्यक्ष चयन हुने सम्भावना प्रबल छ । महाधिवेशनको उद्घाटन चितवनको नारायणी किनारमा र बन्दसत्र सौराहको सेभेन स्टार होटेलमा हुनेछ । एमालेका वर्तमान उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यसले ओलिलाई सर्वसम्मत हुन रोक्नेछ भने लामो समय आन्तरिक विवादको घेरामा रहेको एमालेका लागि त्यही घाउँको अल्झन र खोटहरु देखिनेछ । महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीका सन्दर्भमा पनि केही फरक प्रस्ताव पेश गरिएको छ । चार कार्यकाल केन्द्रीय सदस्य हुनेहरु उपल्लो पदमा जानुपर्नेमा युवा नेताहरु एकमत देखिएका छन् । साविकको एमाले फुटेर दुःख मनाउ गरिरहेको एमालेका लागि यस महाधिवेशन नेता, कार्यकर्ताका लागि ठूलो आशा, उत्साहको सञ्चार गर्ने अवसर छ ।

एमालेका लागि महाधिवेशन एक कुम्भ मेला हो । सत्तामै रहँदाको पार्टी बिभाजनको मार खेपेको एमालेले महाधिवेशन सँगै धेरै कुरा सुधार गर्नुपर्छ । विगतमा संसद विघटन जस्ता निर्णय र कदम खराब नै थियो, त्यसको गम्भीरतापूर्वक समिक्षा हुनुपर्छ । नेपाली राजनीतिको इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीको दुई तिहाई उन्मुख सरकार चलाएको एमालेले यसमा कमजोरीको पहिचान, सुधार, मनन नगर्ने हो भने भोलिका दिनमा थप क्षति बेहोर्नु पर्ने छ । अहिलेको महाधिवेशनलाई आक्रामक प्रचार, आम नागरिक सम्मै पुग्ने गरि केही भर्चुअल प्रयास, महाधिवेशन खर्चका लागि स्वयम् पार्टीले चलाएको १ सय रुपैयाँ अभियान सुखद र स्वागतयोग्य कदम हो । अहिले एमालेमा ओलि पात्र र प्रवृत्ति हाबी देखिन्छ । यसको प्रभाव अबको नेतृत्व चयनमा पनि देखिन्छ । अन्यथा सकस सिर्जना हुने निश्चित छ । समयको गतिलाई पक्रिने अब्बल नेतृत्व र सोही अनुसारको कार्यदिशा पारित गर्न सकोस् । एमाले महाधिवेशनको पूर्ण सफलताको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *