अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सडक सञ्जाल स्तरोन्नती गर्न माग

आदर्श अनलाइन, पोखरा

निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि अगाडि बढ्न आबश्यक फराकिलो र स्तरीय बाटो निर्माणका लागि सम्बन्धित पक्षले कुनै चासो नदिएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । आगामी पुस महिनादेखि आन्तरिक उडान र बैशाखदेखि अन्तर्राष्ट्रिय उडान नै गर्ने भनिए पनि सडक संजालको स्तरोन्नतीतर्फ कुनै पहल अगाडि नबढाइएको पोखरेली व्यवसायीहरुले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं व्यवसायी वासु त्रिपाठीले हरेक अन्तर्राष्ट्रिय विमानस्थलबाट शहरका मुख्य क्षेत्रसम्म पुग्न फराकिला र स्तरीय सडक मार्ग हुने गरेको भन्दै त्यस्तो सडक बनाउनेतर्फ सम्बन्धित मन्त्रालयले चासो दिनुपर्ने बताए । नयाँ विमानस्थलबाट कम्तिमा रात्री गन्तव्य लेकसाइडसम्म पुग्ने स्तरीय, फराकिलो र सुविधायुक्त मार्ग बनाउन जरुरी भएको उनले सुनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिवहादुर भट्टराई मन्त्रीहरु स्कर्टिङमा हिंड्ने कारण सडक यात्रा छिटो र सहज हुने भए पनि पृथ्वी राजमार्ग र यहाँका आन्तरिक सडकको अवस्था दयनीय भएको भन्दै यी सडक सुधार तर्फ सबैको ध्यान जानुपर्ने बताउँछन् ।

एशियाली विकास बैंकको सहयोगमा मुग्लिन पोखरा चार लेनको सडक बनाउने प्रक्रिया अगाडि बढे पनि यो सडक तयार हुन केही बर्ष लाग्ने देखिएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पनि विमानस्थल तयार गरेर मात्र नहुने त्यसका लागि आबश्यक पूर्वाधारको निर्माणतर्फ पनि ध्यान दिनुपर्ने बताए । विमानस्थलबाट आन्तरिक भन्दा पहिला भारत र चीनबाट उडान गरी यो अन्तर्राष्ट्रिय विमानस्थल हो भनी सन्देश दिनुपर्ने सुझाव पनि उनको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका निर्देशक विक्रमराज गौतमले सेफ्टी, सेक्युरिटी र फ्यासिलेसनको काम अहिले भइरहेको र विमानस्थल निर्माणमा कुनै सटकट विधि नअपनाइने बताए ।

विमानस्थल नजिकको रिट्ठेपानी डाँडा काट्ने, बर्षाको पानीको निकासको व्यवस्था र दुई किलोमिटर पर रहेको ल्याण्डफिलसाइट स्थानान्तरको काम पनि थाँती नै रहेका छन् । तर पनि हालसम्म विमानस्थलको ८४ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको जनाइएको छ । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलमा अब उपकरण जडान र डेकोरेसनको काम बाँकी रहेको बताए । चीनको एक्जिम बैंकले प्रदान गर्ने २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा चीनकै सीएएमसी इन्जिनियरिङले स२०७४ असार महिनादेखि विमानस्थल निर्माणको काम अगाडि बढाएको हो । निर्माण सम्पन्न सन् २०२१ जुलाई १० मा गर्ने भनिए पनि कोभिड १९ का कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले थप एक बर्ष म्याद बढाएर २०२२ जुलाई १० पु-याएको हो ।

पछिल्लोपटक विमानस्थल संचालनका लागि गण्डकी प्रदेश सरकारले पनि एक सहजिकरण समिति पनि गठन गरेको छ । उडान सुरु गर्न, संघीय र स्थानीय सरकारसँग सहजिकरण गर्न र विमानस्थल संचालन अघि देखिएका समस्या समाधानका लागि यस्तो समिति बनाइएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए । पर्यटन मन्त्री मणिभद्र शर्मा उक्त समितिका संयोजक हुन् । विमानस्थल निर्माणका लागि पोखरा–१४ छिनेडाँडामा मा विसं २०३२ सालमा तीन हजार एक सय रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि पाँच सय २१ रोपनी र पछिल्लोपटक थप १०४ रोपनी जमिन अधिग्रहण गरी काम अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यमस्तरका जहाजबाट उडान तथा अवतरण हुने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *