जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना

थम्मन थापा, बागलुङ
गलकोट नगरपालिका ७ मल्म, आँगाखेत घर भइ अहिले जापानमा रहेका एक युवाले आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन । गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष रामु थापा काजीले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्म स्थित सिरबारे प्राथमिक विद्यालयमा उनले छोरा आयुष थापाको जन्मदिनको अवसरमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेका छन ।

विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस भन्ने उद्येश्यले उक्त कार्य गरेको अक्षयकोषकर्ता थापाले बताए । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाई छ ।

रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । उक्त रकमको वार्षिक ब्याज मार्फत विद्यार्थीले शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, सिरबारेका प्रधानध्यापक कल्पना गौतमले जानकारी गराईन ।

अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल दर्जीले बताए ।

कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अक्षयकोष रकमको ब्याज बाट प्राप्त हुने पुरस्कारले विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न सहयोग पुग्ने बताए । यस्ता कार्यले समाजमा शिक्षाको महत्व झल्काउने उनको विश्वास छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *