धार्मिक संस्था, दान र अपारदर्शिता

सम्पादकीय
धार्मिक मठ, मन्दिर, देवालय, गुठीहरु अनि धर्म सँग जोडिएका अनेक धार्मिक संस्थाहरु । कति पवित्र उद्धेश्यले स्थापित छन्, यस प्रतिको आम श्रद्धालु भक्तजन र मानिसहरुको कति धेरै बिश्वास र भरोसा छ । मन्दिर, देवालय जस्ता पवित्र संस्थामा अपवित्र कर्म, अपारदर्शिता होला र ? निश्चय पनि यस्तो कल्पना गर्दा पनि अपराध होला जस्तो लाग्छ । र धेरैले यस्तो सोचेका पनि छैनन्, सोच्दा पनि अचम्मित बन्छन् र अपराध या पाप कर्म जस्तो ठान्छन् । तर, सबै धार्मिक संस्थाहरुमा आम मानिसहरुले सोचे जस्तो पवित्र र पारदर्शिता नभएको गुनासो तिव्र छ ।

धौलागिरीका धार्मिक संस्था या यससँग प्रत्यक्ष परोक्ष जोडिएका समिति, योजना, कार्य सम्पादन र गतिविधिलाई हेर्ने हो भने पनि पवित्र उद्धेश्यको आवरणमा अपवित्र सोच, गतिविधि र प्रवृृत्ति कतै न कतै, कुनै न कुनै रुपमा देखिएको आभाष हुन्छ । कतिपय संस्था र समितिमा नियत र योजनावद्धै रुपमा यस्तो हर्कत हुने गरेको छ भने कतिपय स्थानमा बिषयगत ज्ञान, सिप, दक्षता र समन्वयको अभावमा यस्तो समस्या प्रकट हुने गरेको छ । हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरको बारेमा पनि लामो समयदेखि यस्तो गुनासो सुनिदै आइएको छ । यही क्रममा मुक्तिनाथ मन्दिर व्यवस्थापनका लागि गठित मुक्तिनाथ मन्दिर विकास समितिले झण्डै १६ वर्षको अन्तराल पछि कोषमा संकलित हिसाव सार्वजनिक गरेको छ । कोषमा ४ करोड २४ लाख २५ हजार ८ सय ८५ रुपैयाँ मौज्दात रहेको समितिले जनाएको छ । मुक्तिनाथमा भारतीय तिर्थयात्री सहित हिन्दु र बौद्धधर्मालम्बीका साथै हजारौ पर्यटक दर्शनका लागि पुग्छन् । दर्शनार्थीबाट संकलन गरेको चन्दा र भेटीबारे आज सम्म सबै बेखवर जस्ता थिए । अब समितिले मुक्तिनाथमै बैठक राखेर आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र समितिले पुरातत्व बिभाग सँगको समन्वयमा मुक्तिनाथको बृहत्तर विकासका योजना तय गर्ने पनि तयारी गरेको छ । प्रायशः मन्दिर या गुठीको रुपमा रहेका धार्मिक संस्थामा प्रमुख जिल्ला अधिकारी सहित मालपोत कार्यालयका प्रमुख मुख्य जिम्मेवारी र भुमिकामा देखिन्छन् । यद्यपी यसको नेतृत्व राजनीतिक नियुक्तिको रुपमा हुने गरेको छ । जे होस्, जो सुकैले नेतृत्व गरुन् । तर पवित्र स्थलमा पवित्रता र पारदर्शिता सबैको सरोकारको बिषय हुनुपर्दछ ।

मुक्तिनाथ विकास समितिले ढिलै भए पनि हिसाव सार्वजनिक गरेको छ । अरु यस्ता थुप्रै धार्मिक संस्था र समितिहरु छन् । जसबारे आम मानिसहरुले कतै खुलेर अपारदर्शिताका बारेमा गुनासो र आलोचना गरेका छन् भने कतिपय स्थानमा बाहिर सार्वजनिक रुपमा अभिव्यक्त छैन । तर, भ्रष्टाचार र अनियमितताको दुर्गन्धको फैलावटबारे एक कान दुई कान मैदान हुँदै विस्तार भइरहेको छ । धर्म र धार्मिक संस्थाहरुमा पवित्र कर्म गर्न जाने र यससँग जोडिनेहरु नै शंकाको घेरामा पर्ने अवस्था कदापी सभ्य र सुसँस्कृत समाजका लागि राम्रो र सुखद होइन, यस्तो अवस्था आउनु पनि हुँदैन । जहाँ जहाँ, जुन जुन धार्मिक संस्था र समिति लामो समयदेखि पारदर्शी पद्धतिमा छैनन् । तत्काल अपारदर्शी अन्त्य गरेर सम्भावित दोषारोपण र लाञ्छनाबाट जोगिएर पवित्र संस्था र स्थललाई अपवित्र बनाउन समयमै पहल र भुमिका निर्वाह गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *