सरकारको राष्ट्रवाद कालापानीमा टुंगियो:कांग्रेस सभापति देउबा

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार र नेकपाको राष्ट्रवाद कालापानीमा बिलय भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसले आइतवार बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापती देउवाले कम्युनिष्टको चर्को भाषण र बोलीको राष्ट्रवादको असली हविगत अहिले देखिए बताउनुभयो ।

पोखराको चुनावी सभामा भारतले प्रधानमन्त्री केपी ओलीको सहमतिमै नयाँ नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका सभापति देउबा यहाँको सभामा पनि केही नरम रुपमा प्रस्तुत हुनुभयो । ‘भारतले सार्वजनिक गरेको नयाँ नक्सामा देशका भू–भाग पर्दा पनि सरकारले यथेष्ट पहल गर्न सकेको छैन,’ पूर्व प्रधानमन्त्री समेत रहेका देउबाले भन्नुभयो, ‘यो सरकार हर हिसावले असफल भइसक्यो ।’ राष्ट्र र राष्ट्रियताका सवालमा बर्तमान सरकार उदासिन देखिएको सभापति देउबाको आरोप थियो ।

प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको नारा लिपुलेक, लिम्पुयाधारा र कालापानीमा गएर टुंगिएको देउबाको दावी थियो । देशको दुई तिहाइको सरकार विकास र समृद्धिका लागि नभई लुट्नमै लागि परेको उहाँले बताउनुभयो । जनतालाई साथ भन्दा पनि बढी दुःख दिने गरेको उहाको भनाई थियो । अब देशको विकास र हरेक समस्याको निकास दिनका लागि नेपाली काँग्रेसलाई जनताको साथ आवश्यक रहेको भन्दै जनतालाई उपचुनावमा मत दिन आव्हान गर्नुभयो । ‘काँग्रेस पार्टी फोस्रा कुरा गरेर जनतालाई छल गर्दैन,’ उहाँले भन्नुभयो, ‘केन्द्रदेखि गाउँ तह सम्म भ्रष्टचार संस्थागत हुँदै गएको छ, सरकारले केही नयाँ काम गरेन । काँग्रेसकै पालामा भए गरेका कामलाई देखाएर सस्तो प्रचारमा रमाइरहेको छ ।’

ढोरपाटनमा निर्माण हुने उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङ तर्फबाटै बहाव हुने गरि निर्माण गर्नका काँग्रेस लड्ने बताउनुभयो । पश्चिम बागलुङलाई छुट्टै जिल्लाको मागलाई काँग्रेसका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले आश्वासन समेत दिनुभयो ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताउनुभयो । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गर्नमा उद्धत छ,’ नेता पौडेलले भन्नुभयो,‘यस्तै चालले अबको तीन वर्षमा देश खतरामा जाने संकेत देखिएको छ ।’

कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले गाउँ समाजको समृद्धिका लागि आफ्ना उम्म्ेदवारलाई जिताउन आग्रह गर्नुभयो । चुनावी सभामा काँग्रेसका युवा नेता गगन थापा, प्रदिप पौडेल लगायतले बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *