कांग्रेस गण्डकीमा जोशी र शर्माबीच प्रतिस्पर्धा

आदर्श अनलाइन, पोखरा
नेपाली कांग्रेस गण्डकी कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट शुक्रराज शर्माले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सदस्यसम्म नै प्यानल बनाएर उम्मेदवारी दिएका हुन् ।

प्रदेश उपसभापतिमा जोशी प्यानलबाट मेखलाल श्रेष्ठ र नेत्र महत उम्मेदवार बनेका छन् भने शर्मा प्यानलबाट कल्पना तिवारी र हरिकुमार श्रेष्ठ उम्मेदवार छन् । यस्तै, महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र इश्वर पाण्डेले उम्मेदवारी दिएका छन् भने शर्मा प्यानलबाट विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ उम्मेदवार छन् ।

कांग्रेसले प्रदेशमा पनि सभापति १ जना, उपसभापति, २ जना, महामन्त्री २ जना र १ जना महिलासहित सहमहामन्त्री ३ जना हुने व्यवस्था गरेको छ । प्रदेश पदाधिकारीका यी सबै पदमा स्पष्ट दुइटा प्यानलबाट मात्र उम्मेदवारी परेका छन् ।

सहमहामन्त्रीमा जोशी प्यानलबाट राजनराज पन्त र झुलबहादुर आले उम्मेदवार छन् भने शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे उम्मेदवार छन् । महिला सहमहामन्त्रीमा जोशी प्यालनबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् ।

गण्डकी कार्यसमितिमा ६० जना सदस्यका लागि १३२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ । गण्डकी प्रदेश समितिका निर्वाचन कार्यतालिका अनुसार शनिबार विहान ८ बजेदेखि मतदान थालिने जनाएको छ । गण्डकीमा करिब ११ सय प्रतिनिधि मतदानमा सरिक हुँदैछन् ।

प्रदेश अधिवेशन प्रतिनिधि,केन्द्रीय महाधिवेशन प्रतिनिधि,सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका मतदाता हुन पाउने विधानमा उल्लेख छ । यस्तै प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापतिहरू, प्रदेशका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि मतदाता हुन् । भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई उम्मेदवारी दिन भने रोक लगाइएको छ ।

कांग्रेसको विधानले सभापतिसहित २ जना उपसभापति, २ जना महामन्त्री, ३ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष एवं सदस्यहरुको कार्यसमितिको व्यवस्था गरेको छ । सहमहामन्त्रीमा १ जना महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ भने कोषाध्यक्ष सभापतिले मनोनित गर्ने हो तर कार्यसमितिले त्यसको अनुमोदन गरिनुपर्छ ।

कार्यसमितिमा सम्बन्धित प्रदेशभित्रका प्रत्येक जिल्लाबाट एक महिलासहित २ जना प्रत्यक्ष निर्वाचित सदस्य रहने प्रावधान अनुसार गण्डकीमा जिल्लाबाट २२ जना आउनेछन् । सभापतिले प्रदेश सभाका कूल सदस्यमध्ये २० प्रतिशत सदस्य मनोनित गर्न पाउँछन् ।

त्यसमा समावेशीताको प्रावधान राखिएको छ प्रदेश सभामा अल्पसंख्यक, अपांगता भएका क्षेत्रबाट कम्तिमा एक जना निर्वाचित सदस्य रहने तथा प्रदेश सभा निर्वाचन क्षेत्रको कुल संख्यामा एक तिहाइ संख्या प्रत्यक्ष निर्वाचित गरेको सदस्य हुनुपर्ने विधानमा व्यवस्था छ ।

यस्तै, प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तिमा एक महिला र एक पुरूष सदस्य हुनुपर्ने विधानको व्यवस्था छ ।प्रदेश कार्यसमितिको बैठकमा सम्बन्धित प्रदेशभित्र रहेका जिल्ला सभापतिहरूलाई अनिवार्य आमन्त्रण गर्नुपर्ने प्रावधान छ । सभापति पदमा दुई जनाभन्दा धेरै उम्मेदवार भएमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विजयी हुनेछ । सभापतिमा २ जनामात्रै उम्मेदवार भएकाले गण्डकीमा पहिलो चरणमै सभापति चुनिने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *