आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारणसभा अन्तर्गत तेस्रो एकाई सभा सोमबार बरेङमा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सहकारी आफ्नो मर्म अनुसार चल्नुपर्ने बताउनुभयो । शर्माले सहकारी गरिब र दिन दुखीको सहारा भएको बताउदै सहकारीले समाजको आर्थिक विकासमा टेवा पु¥याउने बताउनुभयो । “धनीहरुका लागि सहकारी आवश्यक नहोला, तर विपन्न समुदायका लागि सहकारी अपरीहार्य छ” शर्माले भन्नुभयो “ग्रामिण जनताको आयस्तर बढाउनका लागि सहकारी उत्तम विकल्प हो, सबै नागरिकले सहकारीमा कारोबार गरी अर्थ उपार्जन तथा व्यवसाय प्रर्बद्धनका लागि सहकार्य गरौं ।”
सहकारी मार्फत सूचना र सञ्चार क्षेत्रमा आदर्श सञ्चारले गरेको कामले समग्र सहकारी क्षेत्रलाई प्रर्बद्धन गर्न योगदान गरेको उहाँको भनाई थियो । साधारणसभाका अवसरमा संस्थाको अवस्था, आगामी कार्यक्रम, रणनीतिक योजना लगायतका विषयमा संस्थाका संम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बागलुङका सञ्चालक चिनिमाया काला, नेकपा एमाले जिल्ला कमिटि सदस्य प्रेमराज शर्मा, नयाँ कृषि अभियान सहकारी संस्थाका सचिव धनिश्वर पौडेल, सहकारीका पर्यटन पर्बद्धन उप–समितिका सदस्य सूर्य चापागाई, आदर्श सञ्चार सहकारी बरेङ गउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
साधारणसभाको अवसरमा दीर्घकालिन बचत तर्फ उत्कृष्ट सपना नेपाली, दीर्घकालिन बाल चत तर्फ ममता गौतम, उत्कृष्ट कर्जा कारोबार तर्फ विष्णु पुन, उत्कृष्ट जोडी तर्फ देबी काला र नर बहादुर पुन, शेयर बृद्धिको कर्मचारी तर्फ सुवास शर्मा र उत्कृष्ट परिवार तर्फ जयराम, तिला, सुमन, सुवास, सुविन्दा, सम्झाना र सुष्मा शर्मालाई मायाको चिनो र प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्य धन बहादुर पुनको ममतामयी आमा कुन्ती देवि पुनको निधन भएकाले परिवारका तर्फबाट नाती मनोज पुनलाई शेयर सदस्य आफ्न्त मृत्यु राहत रकम बराबर रु. पाँच हजार प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता, बरेङ गाउँपालिका स्तरीय उपसमितिका सचिव देविदत्त शर्माको सञ्चालन तथा सदस्य प्रेम गिरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
सहकारी संस्थाको १५ औं साधारणसभा चौथो एकाई अन्तर्गत मंगलबार जैमिनीमा हुँदैछ । संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।