ओमिक्रोनको नेपाल प्रवेश र सरकारको तयारी

सम्पादकीय
विस्तारै कोरोना संक्रमणको भयावह बिर्सेर नियमित लय तर्फ जनजीवन उन्मुख हुँदै गर्दा ओमिक्रोनले नेपाल प्रवेश गरिसकेको छ । कोरोना भाइरस (कोभिड १९) को सुरुवाती संक्रमणका बेलामा पनि चीन र अरु केही देशमा संक्रमण फैलिँदा साथ नेपालमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले तेस्रो चरणको निकै खतरानक भाइरस आँकलन गरिएको ओमिक्रोनको संक्रमण चर्चा सुरु भएको केही समयमै नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो । तर, त्यसको पाँच दिनअघि अफ्रिका हुँदै नेपाल आएका दुईजनामा एक सातापछि संक्रमण देखिएको छ ।

ओमिक्रोनको आतंक विश्वव्यापी बन्दै गर्दा नेपालमा यति छिट्टै संक्रमण कसरी देखियो ? निकै संक्रामक ठानिएको भाइरस देशमा भित्रिन नदिन सरकारको तयारी के थियो ? नेगेटिभ रिपोर्टसहित काठमाण्डौं उत्रिएका उनीहरुमा कसरी संक्रमण देखियो ? कोरोना भाइरसको पहिलो र दोस्रो चरणको तीब्र फैलावटको अनुभव भोगाईबाट सरकारले पाठ सिक्यो कि सिकेन ? विगतबाट प्राप्त अनुभव सिकाईलाई पछिल्लो भेरियन्ट रोक्न प्रयोग गरियो कि गरिएन ? यी र यस्ता यावत प्रश्न यतिबेला बिद्यमान छन् । ६६ वर्षीय विदेशी नागरिक र उनीसँग नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भयो । संक्रमितको ट्राभल हिस्ट्री अझै जानकारी नभएकाले यस अवस्थामा उनीहरूबाट अन्य कतिमा संक्रमण फैलियो भन्ने निश्चित छैन । यद्यपि उनीहरुको सम्पर्कमा रहेका ६६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालमा ओमिक्रोनकै आशंकामा थप केही व्यक्तिको पनि जिन सिक्वेन्सिङ परीक्षणको तयारी गरिएको छ । वत्सवानामा पुष्टि भएको १३ दिनमै ओमिक्रोन भेरियन्ट नेपालसहित विश्वका ४० देशमा पुगिसकेको छ । अफ्रिका, युरोप, अमेरिकाका साथै दक्षिण एसियामा नेपालअघि नै भारत र श्रीलंकामा पुष्टि भएको हो । भारतमा संक्रमण बढिरहेको छ । त्यहाँ सोमबारसम्म २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसको प्रत्यक्ष खतरा नेपालमा पनि छ । भलै स्वास्थ्यकर्मीहरुले अहिले नै आत्ति हाल्नुपर्ने अवस्था नरहेको बताइरहेका छन् । तर, विदेशबाट नेपाल प्रवेश देखि तीन तहका सरकारले अहिले देखि नै गर्नुपर्ने अन्य पूर्ववत सजगता र तयारीमा भने कुनै कसर पनि बाँकी राख्नु हुँदैन । यसको नेपाल प्रवेश, संक्रमण विस्तार, विगतका लकडाउनको निरन्तरता नेपाल र नेपालीका लागि निकै महंगो पर्नेछ । जुन थेग्न अब निकै सकसपूर्ण हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *