हर व्यक्तिमा कर तिर्ने रहर जागोस्

सम्पादकीय
कर दिवस धौलागिरीमा सप्ताहव्यापी कार्यक्रमका साथ मनाइएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा गत मंसिर १ गतेदेखि मनाउन थालिएको कर दिवसका अवसरमा धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा बिभिन्न सचेतनामूलक कार्यक्रम गरियो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान समेत गरियो । यो बर्ष बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था पाँचौ पटक सहित पर्वतको जनसेवा लघु वित्त संस्था, म्याग्दीको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था र मुस्ताङको अमिट बिल्र्डस उत्कृष्ट करदाताको रुपमा सम्मानित भए । करका सजिला, अप्ठ्यारा बिषयमा छलफल बहस पनि भयो । दिवसले समग्रतामा कर तिर्नु दायित्व भएको धेरथोर सन्देश छोड्न सफल पनि रह्यो ।

आन्तरिक राजव्य कार्यालयले उत्कृष्ट करदाता भनेर सम्मान त ग¥यो । तर, ती सम्मान प्राप्त गर्ने संस्था र कम्पनीले कति कर तिरे भन्ने खुलाएन । राजश्व कार्यालयले गोपनीयताका हिसावले सार्वजनिक गर्न नमिल्ने भन्यो । कर तिरेको बिषयले सम्मान गरेको हो र अरुलाई पनि कर तिर्न प्रोत्साहित गर्ने अभिप्राय हो भने किन नखुलाउने ? यो कर दाता र कार्यालय दुवै पक्षका लागि पनि राम्रो बिषय हो । यस्ता बिषयलाई जतिसक्दो धेरै मानिसहरुका बीचमा पु¥याएर कर तिर्नुपर्छ र कर तिरेमा राज्यका तर्फबाट सम्मान समेत मिल्छ भन्ने सन्देश व्यापक बनाउनु पर्छ । कर दिवसका क्रममा यसका बिबिध पक्षमा बिषय उठान भएका छन् । कतिपयले करका बिषयमा अझै थुप्र अस्पष्टताहरु छन् । जुन उद्योगी, व्यवसायीदेखि सर्वसाधारण सम्मलाई राजश्व कार्यालयले बिभिन्न कार्यक्रम मार्फत प्रष्ट पार्नुपर्छ । कर तिर्ने क्रममा झञ्झटिला प्रक्रियाहरुलाई सरलिकृत बनाउनु पर्छ । कर कार्यालयमा देखिने लामो लाइनले अझै पनि हाम्रा सरकार सेवा प्रणाली कति ढिला र अव्यवस्थित छ भन्ने झल्काउँछ । प्रविधिको तिव्रतर विकास भइसक्दा पनि यस्तो अवस्था बिद्यमान किन छ ? सम्बन्धित पक्षले सोच्नुपर्छ ।

कर हरेक नागरिकले रहरले तिर्ने बातावरण बनाउन आवश्यक छ । यसका लागि सबै भन्दा बढी राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ । नागरिकले आफ्नो अथक मेहेनत र पसिनाबाट आर्जेको आम्दानीबाट तिर्ने करको नागरिकलाई प्रत्यक्ष अनुभूत गर्ने गरि सही सदुपयोग हुनुपर्छ । कर तिरिरहने तर सरकारका तर्फबाट भ्रष्टाचार, मनपरी गरेर भौतिक विलासितामा खर्चिन थालियो भने त्यसले निश्चय पनि बिग्रह पैदा गर्दछ । आँफुले तिरेको कर के मा र कसरी खर्च भइरहेको छ भन्नेबारे सबैले सचेत रुपमा रखबारी गर्नुपर्छ । कार्यालयले अब समय सापेक्ष रुपमा कर हरेकले अनलाइनबाट घर घरबाट तिर्न मिल्ने बनाउनु पर्दछ । जति सहज र सरल प्रक्रियाबाट कर तिर्ने बातावरण बन्छ, त्यति त्यति नागरिकमा पनि कर तिर्नुपर्ने दायित्व र जिम्मेवारीबोध हुन्छ । अहिले कर भनेको अप्ठ्यारो हाउगुजी जस्तो बनेको र बनाइएको छ । यसमा राजश्व कार्यालयले समयमै प्रविधिमैत्री सोचको विकास गरेर कर सबैको रहर बनाउने गरि काम गर्न सक्नुपर्छ । जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *