बेलायतबाट फर्केर उद्यममा रमाउदै गलकोटका भण्डारी


–खेमराज गौतम, बागलुङ

लगानीको अभावमा विदेश पुगेका नेपालीहरु विदेशबाट फर्केर उद्यममा जोडिनेहरुको लहरनै रहेको छ ।

नेपालमा लगानी जुटाउन नसकेका युवाहरु विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लागनी गर्न थाल्नुभएको छ । यस्तै लामो समय विदेशमा बस्नुभएका गलकोट नगरपालिका–३ हटियाका नर बहादुर भण्डारीले विगत ९ वर्ष देखि गलकोटमा आफ्नै उद्यम थाल्नुभएको छ । उहाँले गलकोट नगरपालिका–३ सिमखेतमा रहेको आफ्नै साढे पाँच रोपनी जग्गामा व्यवसायीक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस गर्दै आउनुभएको छ ।

गलकोट नगरपालिका–३ पिडाल्ने निवासी भण्डारीले सिमखेतमा २०६९ सालदेखि कृषि पेशा थाल्नुभएको थियो पछि उहाँले उद्यमलाई विस्तार गरी रेष्टुराँ र पार्टी प्यालेस बनाउनुभएको छ । ४९ वर्षिया भण्डारी शुरुमा रोजगारीका लागि भारत जानुभयो । १५ वर्ष भारत विताउनुभएका भण्डारी उत्कृष्ट कुकका रुपमा भारतीय रेष्टुराँमा काम गर्न अफ्रिकाको केन्या पुग्नुभयो । केन्यामा ११ वर्ष काम गर्नुभएका भण्डारी पुन बेलायत पुग्नुभएको थियो ।

वेलायतमा पाँच वर्ष बिताउनुभएको भण्डारीले तीन देशमा गरेर ३१ वर्षको वैदेशिक यात्राको क्रम टुङ्गाएर गाउँमै उद्यम थाल्नुभएको छ । कृषि, रेष्टुराँ र पार्टी प्यालेसमा झण्डै साढे दुई करोड लगानी गरिसक्नुभएको भण्डालीले बताउनुभयो ।

“लामो समय बैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगे, लामो समय पाककलामा काम गर्दै आए” भण्डारीले भन्नुभयो “गाउँमा फर्केर सिम खेतमा तरकारी खेती शुरु गरेको थिए, पछि आफ्नो तरकारी फर्ममा उत्पादित बस्तु घरबाटै रुचाइन थाल्यो, यहाँका स्थानीयहरुको सल्लाहमा अर्गानिक रेष्टुराँ खोलेको थिए, रेष्टुराँमा दरम खोलाको माछा, मकै भट्ट लगायत फर्ममा उत्पादित तरकारी अर्गानिक तरकारीको स्वाद चखाउन थालेपछि पुन चार वर्षदेखि विवाह तथा सभा समारोहका लागि पार्टी प्यालेस खोलेको छु ।”

अहिले उहाँको श्रीमती, छोरा र बुहारीको सहयोगमा कृषि लगायतको उद्यम सञ्चालन गर्दै आउनुभएको छ । उहाँकी श्रीमती लोक कुमारी भण्डारी, छोरा भगवान भण्डारी र बुहारी राधिका भण्डारीले उद्यममा सघाउदै आउनुभएको छ ।

भण्डारीका एक छोरा विदेशमा रहेपनि अर्का छोरा भगवान भण्डारीलाई यही व्यवसायमा भिजाउने योजनामा लोक बहादुर हुनुहुन्छ । भण्डारीले परिवार बाहेकका तीन जनालाई दरमखोलाको काखमा रहेको सिमखेतमा रहेको उद्यममा रोजगारी प्रदान गर्नुभएको थियो ।

आफ्नै जग्गामा रेष्टुराँ, तरकारी र पार्टीप्यालेस रहेका कारण भाडा तिर्न नपर्दा कोरोनाले खासै समस्या नभएको उहाँको भनाई छ ।

“मैले आफ्नो अर्गानिक रेष्टुराँमा आउने पाहुँनालाई फर्ममा उत्पादित चामाल, बन्दा, काउली, टमाटर, खुसार्नी खुवाउदै आएको छ” उहाँले भन्नुभयो “थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा ल्याएको थिए, मैले पार्टीप्यालेसमा प्रयोग हुँने फूल समेत आफै उत्पादन गर्ने गरेको छु, डेढ रोपनी जग्गामा पार्क समेत निर्माण गरिएको छ त्यहाँ पुष्प खेती भइरहेको छ, मैले आफ्नो रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने धेरै सामाग्री आफै उत्पादन गर्छु त्यसैले अर्गानिक खाजा र खानाका लागि पाहुँनाहरु आइराख्नुहुन्छ ।”

उहाँले गलकोटमा पहिलो पटक व्यावसायीक पुष्प खेतीको सुरुवात गर्नुृभएको छ । अहिले थप तीन रोपनी जग्गा भाडामा ल्याएर पुष्प खेती विस्तार गर्ने योजनामा भण्डारी हुनुहुन्छ । अहिले गलकोट क्षेत्रका विबाह तथा अन्य उत्सवहरु त्यही पार्टीप्यालेसमा समेत हुँदै आएका छन् । उहाँले पार्टी प्यालेस र रेष्टुराँ सञ्चालनमा लागि सुविधा सम्पन्न भौतिक संरचना तयार गर्नुभएको छ । भण्डारीले आफूले विदेशमा कमाएको धेरै रकम उद्यममा लगाएको बताउदै परिवारका अन्य सदस्य विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न खोजेको बताउनुभयो ।

शुरुमै नेपालमानै केहीगर्ने लक्ष्य रहेको भण्डारीले लगानीको अभावमा विदेश पुग्नुपरेको स्मरण गर्नुभयो । ३१ वर्षको वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नुपरेपनि स्वदेशमा फर्केर परिवारसंग रमाउन पाउदा निकै आनन्द रहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *