आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठक मंसिर २५ र २६ गते सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित गर्नुका साथै स्थायी कमिटि र पोलिटव्यूरो चयन गरेको छ ।
बैठकले प्रदेश कमिटिका पदाधिकारी समेत चयन गरेको छ । एमालेको ४५ सदस्यीय स्थायी कमिटिमा साविक धौलागिरीका ४ जिल्लाबाट म्याग्दीका थममाया पर्नु भएको छ । यस्तै पोलिटब्यूरो सदस्यमा बागलुङका लिला बहादुर थापा र मनकुमारी जिसी केसी चयन हुनुभएको छ ।
दशाँै राष्ट्रिय महाधिवेशनमा एकजना पनि केन्द्रीय सदस्य नभएका पर्वत जिल्लाबाट संघीय सांसद रहेका पदम गिरी र संविधानसभाका सदस्य कल्पना चापागाई तथा बागलुङ क्षेत्र नं. १ का संघीय सांसद डा.सूर्य पाठक र बागलुङकै कृष्ण केसी तथा हिमालपारीको जिल्ला मुस्ताङबाट चन्द्रमोहन गौचन र टसी स्याङ्वो गुरूङ केन्द्रीय कमिटि सदस्यमा मनोनित हुनु भएको छ ।
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट बागलुङका गोविन्द बहादुर नेपाली, इन्द्रलाल सापकोटा र सावित्रा राना तथा म्याग्दीका भूपेन्द्र बहादुर थापा र नरदेवी पुन र मुस्ताङका श्रीमाया थकाली केन्द्रीय कमिटि सदस्य निर्वाचित हुनु भएको थियो ।