टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुने

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले हाई अल्टिच्युड खेलमैदान निर्माण गरिने भएको छ । जिल्लाको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न मनीषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९१४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । टोड्केबाट आँखैअगाडि धौलागिरि, अन्नपूर्ण, निलगिरिसहित दर्जनबढी हिमशृंखला देख्न सकिन्छ । हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित खेल मैदान निर्माणको कार्य सुरु भएको हो । 

पर्खालसहित भलिबल, बास्केटबललगायत खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । ‘हिमालको काखैमा निर्माण गरिने यो खेल मैदानलाई नेपालकै नमुना खेलमैदान बनाउने हाम्रो लक्ष्य रहेको छ, खेलकुदको माध्यमद्वारा पनि पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने उदाहरण हामीले टोड्केबाट दिनेछौँ’ अध्यक्ष भण्डारीले भन्नुभयो । 

टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिकै गुराँसको घनाजंगलसमेत रहेकाले सिजनमा राताम्मे गुराँस, चाँदीजस्तै टल्किने हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकनसमेत गर्न सकिने बताइएको छ । खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कुल पाँच करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ ।

नेपालमा हाई अल्टिच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भिœ्याउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो । ‘यहाँको सम्भावनालाई बेच्न सकेमा पर्यटक थामिनसक्ने आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ’ उहाँले भन्नुभयो । 

हाल पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएका छन् । रघुगंगा गाउँपालिकाले पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ । झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुनेछ । 

टोड्के प्रकृतिको अनुपम उपहार, स्वर्गद्वारीको शाखा आश्रमसमेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय–समयमा आएर ऋषिमुनिहरू आएर तपस्या गर्ने गरेका छन् । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धतासमेत जनाइसकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *