सम्पादकीय
नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा चयन भएका छन् । चौतर्फी नेतृत्व हस्तान्तरणको सवाल तीव्र उठे पनि कांग्रेस महाधिवेशन प्रतिनिधिको पहिलो रोजाईमा देउबा परेका छन् । पुराना गतिहीन, अयोग्य करार गरेर युवा नेतृत्व, नेतृत्व हस्तान्तरणको एजेण्डा, भाषण, नारा जे जति उठाए पनि अन्ततः ती सबै बकबास सावित भएका छन् । कुनै पनि हालतमा वर्तमान सभापति तथा प्रधानमन्त्री रहेका देउवालाई हटाउनै पर्ने अडानमा रहेर चुनावी मैदानमा उत्रिएका प्रकाशमान सिहं, बिमलेन्द्र निधि, कल्याण गुरुङ फेरि उनै देउवाको शरणमा पुगेका छन् । यसले नेपाली राजनीतिमा जे पनि हुन्छ, जे पनि गर्छन्, बोल्छन् भन्ने सोचमा बल पुगेको छ । र नेताहरु मात्र होइन, सिंगो राजनीति प्रति अविश्वास, घृणा पैदा भएको छ ।
मुलुकको पाचौ पटक प्रधानमन्त्रीको रुपमा नेतृत्व गर्ने दुर्लभ अवसर प्राप्त गरेका देउवा कांग्रेसको तेस्रो पटक पार्टीको बागडोर सम्हाल्ने ठाउँमा पुगेका छन् । तत्कालीन कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको अन्तद्धन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए । २०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो । नेपालमा गणतन्त्र स्थापना पश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बने । उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो । २०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए । चुनावमा कांग्रेस पार्टी दोस्रो भए पछि देउवाले तीब्र आलोचना पनि बेहोरे । तर, तीन तहको सरकारको पाँच वर्ष गुज्रिनै लाग्दा सत्ताको पासा आफ्नै दलमा पारेर शक्ति आर्जन गरे । त्यही शक्तिको आड र अरु कुटनीतिक चालबाजीमा अरु आंकाक्षीको चौतर्फी घेराबन्दीका बिच पनि पार्टी सभापति जितेर आफूलाई अब्बल नेताको रुपमा स्थापित गरेका छन् ।
देउवा पार्टी सत्ता र राज्य सत्ताको नेतृत्व गर्ने दुर्लभ पात्र त बनेका छन् । तर, सरकार र पार्टी नेतृत्वमा रहँदा राम्रो छाप छोड्न सकेका छैनन् । नाम भन्दा बढी बदनाम भएको इतिहास छ । अहिले पार्टी सभापति र नेपाल सरकारको प्रधानमन्त्री बहाल रहँदा पनि विगतको खराब इतिहास बदल्ने लयमा देउवाको पदचाप देखिदैन । पुरानै खराब लय, पात्र र प्रवृत्तिमा देखिए पछि उनको पार्टी भित्रै र बाहिरबाट चर्को आलोचना हुने गरेको छ । यद्यपि, देउवाले कांग्रेस भित्रैबाट नेतृत्व परिवर्तनको आवाज व्यापक उठ्दा पनि आफ्नो नेतृत्व स्थापित गरेर आफ्नो नेतृत्व कौशललाई थप प्रमाणित गर्ने अवसर हासिल गरेका छन् । यस्तो अवसर अब पटक पटक देउवालाई प्राप्त हुने छैन । अब कांग्रेसको आन्तरिक पार्टी जीवन र सरकारको प्रधानमन्त्रीको रुपमा देशले कालान्तर सम्म सम्झने काम गर्न तर्फ केन्द्रित हुनुपर्छ । किनकि जो कसैको प्रगति अर्थात् योगदान वर्षले होइन,कर्मले नापिन्छ । त्यो सत्कर्ममा देउवालाई देशले सम्झने कर्म गर्न सफलता मिलोस् । हार्दिक बधाई सहित सफल कार्यकालका लागि शुभकामना ।