निमार्णमा लापरवाही : २ वर्षमै जिर्ण बन्यो छिस्ती स्वास्थ्य चौकी भवन


साधना पन्त, बागलुङ
जैमिनी नगरपालिका–८ छिस्तीमा रहेको छिस्ती स्वस्थ्य चौकी निमाण गरेको २ वर्षमै जीर्ण बनेको छ । भवन निमार्ण गुणस्तरहीन हुँदा बर्खामा पानी चुहिने, शौचालय प्रयोग गर्नै नमिल्ने, धाराको पाइप फुटेर रसाउने समस्या भएको छ ।

स्वास्थ्यचौकी निमार्ण गर्दा चरम लापरबाही भएकै कारणले स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुले समस्या खेप्नु परेको स्वास्थ्य चौकी प्रमुख प्रकाश महतारा बताउनुहुन्छ । दैनिक ४० भन्दा बढी सेवाग्राहीले सेवा लिने स्वास्थ्य चौकीको शौचालय प्रयोग गर्न नमिल्ने, प्रशासनीक कोठामा पानी चुहिएर कागजात बिग्रने, नर्सिङ आवासमा बर्खामा छाता ओडेर सुत्नुपर्ने समस्या भएको महतारा बताउनुहुन्छ । स्वास्थ्य चौकीमा महिनामा ५ देखि ८ जना सम्म डेलिभरी गराउनुपर्ने भएकाले अहिले सेवा दिन निकै समस्या भएको महाताराले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी निर्माण भएकै वर्षबाट शौचालय प्रयोग गर्न नमिल्ने भएकाले हाल वडा कार्यालयको शौचालय प्रयोग गर्दै आइरहेको महतारा बताउनुहुन्छ । व्यक्तिगत पैसा र वडाबाट ३० हजार मागेर भवनको बाहिरी भागबाट पाईप जडान गरी सल्यक्रिया कक्षमा पानी ल्याएको महताराले बताउनुभयो । अहिले स्वास्थ्य चौकिमा छिस्तीको पुरानो गाविसबाट, अहिलेको ८ नम्वर वडा, जैदि, राङ्खानी, छिमेकी जिल्ला पर्वत, करिडोर आसपासका मानिसहरु सेवा लिन आउने भएपनि स्वास्थ्य चौकीको भवनमा सेवा दिन समस्या रहेको महतारा बताउनुहुन्छ ।

स्वास्थ्य चौकी निर्माण गर्ने क्रममा निर्माण व्यवसायीले चरम लापरबाही गरेको वडा नम्वर ८ का वडा अध्यक्ष बिजय अधिकारीले बताउनुभयो । संघीय सरकारको बजेटबाट बनेको स्वास्थ्य चौकीमा निर्माण भएको २ वर्षमै धेरै समस्या देखा परेपछि ठेकेदारलाई पटक–पटक कुरा राख्दा पनि ठेकेदारले कुरा नसुनेको अधिकारी बताउनुहुन्छ । उहाँले वडाबाट पनि विभिन्न समयमा भवन मर्मतको लागि बजेट दिएर मर्मत गरेको जानकारी दिनुभयो । भवनमा प्रयोग भएका समाग्रीहरु कमसल प्रयोग भए नभएको सामान्य मानिसले थाहा नपाउने भन्दै भवनको इस्टीमेन्ट गर्ने इनजीनियर र ठेकेदारले यसको जवाफदेही हुनुपर्ने अधिकारी बताउनुहुन्छ ।

काम गर्ने क्रममा साना तिना कमी कमजोरी हुने भन्दै आधिकारीक रुपमा भवन डिभिजन कार्यलयबाट पत्र आएमा स्वास्थ्य चौकी भवन मर्मत गर्न तयार रहेको ओखलढुङगा/बिएमए/जय कालिका निर्माण कम्पनीका प्रतिनिधि सन्तोष कुवंरले बताउनुभयो ।


उहाँले १ करोड ५६ लाखको लागतमा निमाण गरेको भवन इस्टीमेट अनुसार काम गरेको भन्दै भवन निमार्ण गरेर बुझाएको १३ महिना सम्म डिएल्टी समय हुने भएकाले निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी पैसा पनि रोकीएको हुँदा भवनमा केही समस्या आएमा मर्मत गर्न सकिने बताउनुभयो । अहिले सम्म स्वास्थ्य चौकी र वडा कार्यलयबाट आधिकारीक रुपमा कुनैपनि जानकारी नगराएको कुवँरले बतानुभयो ।

संघीय सरकारको योजनामा १ करोड ५६ लाख लागतमा बनेको भवनको उद्घाटन २०७६ फागुन ७ गते गण्डकी प्रदेश सभाका सदस्य मणिभद्र कंडेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *