बागलुङमा ६० मानव अधिकार उल्लंघनका घटना

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकले विश्व सामु नेपालको मानवअधिकारको अवस्था उजागार गर्ने भएकाले प्रकाशन पूर्व गरिने समिक्षा महत्वपूर्ण भएको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले सोमबार बागलुङमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ कार्कीले यस्तो बताउनुभएको हो । उहाँले समग्र देशको मानवअधिकारको अवस्था वर्ष पुस्तकमा समावेश हुने भएकाले स्थानीय, प्रदेश र केन्द्र सरकारलाई मानवअधिकार सम्बन्धी नीति निर्माण गर्न सहयोगी सावित हुने बताउनुभएको थियो । कार्कीले महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको अधिकारमा मात्रै समित नभएर समग्र मानवअधिकारको अवस्था बारे अध्यन अनुगमन गर्नुपर्ने बतानुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) कृष्ण बहादुर पल्ली मगरले इन्सेकले घटनाको प्रलेख मात्रै नभएर जिल्लाका अन्य संयन्त्र सँग सहकार्य गरेर घटना न्यूनिकरणमा भुमिका खेल्नुपर्ने बताउनुभएको थियो । राज्य पक्षबाट मानवअधिकार उल्ङघन हुन नदिन आफुहरु सम्वेदनशिल रहेको भन्दै उहाँले पछिल्लो समय महिला अधिकारको नाममा झुट्टा मुद्धा दर्ता गर्न आउँनेहरुको संख्यामा वृद्धि हुन थालेको बताउनुभएको थियो । उहाँले एकाध गलत मुद्धा र झुटा पीडितको कारणले वास्तविक पीडितहरु माथी समुदायले हेर्ने नजर समेत फरक देखिन थालेको भन्दै सरोकारवाला संवेदनशिल बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियार, नेकपा एस बागलुङका संयोजक लालबहादुर थापा, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ , अधिकारकर्मी लक्ष्मी जिसी कार्की र अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष कुशुम बुढाले घरेलु हिंसा कसुर ऐनमा उल्लेख भए अनुसारको व्यवस्था सबै स्थानीय तहमा हुनुपर्नेमा जोड दिनुभएको थियो । प्रत्येक पालिकामा सेफ हाउसको व्यवस्था हुनुपर्ने, जघन्य प्रकृतिका घटना मेलमिलाप हुनबाट रोक्नुपर्ने, इन्सेकले तथ्याङक संकलन मात्र नभएर जिल्लाको खाद्य, शिक्षा, स्वास्थ्य र आवासको अवस्थाको बारेमा समेत सरोकारवाला सँग मिलेर काम गर्नुपर्ने, पीडितलाई न्यायको पहुँचमा पु¥याउन सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तेसैगरी नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक, सह–सचिव तारानाथ आचार्य, संगम घर्ती, प्रकाश बरालले इन्सेकले काम गर्ने क्षेत्र फराकिलो बनाउँदै वायु प्रदुषण ध्वनी प्रदुषणले पर्यावरण र मानव स्वास्थ्यमा पारेको असरको बारेमा अध्यन गर्नुपर्ने बताउनुभएको थियो । बढदो प्रदुषणले मानिसले स्वच्छ हावा लिन पाउनुपर्ने अधिकारबाट समेत वञ्चीत भएको भन्दै उहाँहरुले स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले गण्डकी प्रदेश सरकारले पछिल्लो समय कोरोनाबाट निधन भएका प्रदेशका नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय सर्हानिय भएपनि कोरोनाको कारणले विदेशमा निधन भएका गण्डकी प्रदेशका नागरिकलाई उत्त सहायता नदिने निर्णय विभेदकारी भएको भन्दै तत्काल सच्याउनुपर्ने बताउनुभयो । राज्यले नागरिकलाई गर्ने व्यवहार समान नहुनु पनि मानवअधिकार हनन भएको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखी नोभेम्बर सम्म प्रलेख गरेका ६० वटा घटनामाथी छलफल गरिएको थियो । इन्सेक बागलुङले यो अवधिमा बागलुङमा राजनीतिक अधिकारका २, बालअधिकार सम्बन्धी १५, घरेलु हिंसा २५, महिला माथि भएको बलात्कार ८, हत्या ४, बहु विवाह ३, अभद्र व्यवहार १ र हत्या प्रयाशका २ गरि ६० वटा घटना प्रलेख गरेको छ । कार्यक्रम इन्सेक प्रतिनिधी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *