बागलुङ हुँदै गुर्जा हिमाल जाने पर्यटन रुट, जिल्लाबासी बेखवर !

दिल शिरीष/बागलुङ

जिल्लाका बिभिन्न गाउँ भएर पर्यटक पदमार्गबाट गन्तव्य तर्फ गइरहेका छन् । तर, आँफ्नै जिल्ला र गाउँबाट पर्यटक पैदल हिडिरहेकोबारे जिल्लाका पर्यटन र होटल व्यवसायी समेत बेखवर छन् ।

एसएन हिमालयन ट्राभल्स काठमाण्डौ मार्फत म्याग्दीको गुर्जा हिमाल आधार शिविर सम्मको पदमार्गमा हिँडेका पर्यटक बुधबार बागलुङमा थिए । पर्यटन गाइड सोनाम शेर्पाले होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारीलाई सोधे–‘हामी हिड्ने यो रुट अहिले कतिको चल्तीमा छ ?’ होटल व्यवसायी सघंका अध्यक्ष समेत रहेका राजभण्डारी अक्क न बक्क परे । किनकी यहाँका पर्यटन, होटल व्यवसायी र सर्वसाधारणलाई यो रुटबाट पर्यटक हिड्नेबारे केही जानकारी छैन । पर्यटक गाइड शेर्पा बागलुङको पदमार्गको रुट भएर धेरै पटक गुर्जा हिमाल आधार शिविरमा पर्यटक लगिसकेको बताउँछन् । यही सिजनमा मात्र पाँच टोली गन्तव्य तर्फ गइसकेको उनको भनाई छ । पहिलेदेखि चल्तीको पर्यटन गन्तव्य र रुटको बारेमा अहिले सम्म बेखवर बिडम्बना भएको अध्यक्ष राजभण्डारी बताउँछन् । अब यसको सम्बद्ध सबैले प्रचार र प्रर्वद्धन गर्न सकेमा म्याग्दी र मुस्ताङ सिधै जाने आन्तरिक तथा बाह्य पर्यटकहरु मध्ये ठुलो संख्यामा जिल्लामा भित्राउन सकिने उनले बताए ।

यो रुटको पदमार्ग १० दिनको छ । पहिलो दिन काठमाण्डौंबाट बागलुङ सदरमुकाम सम्म सवारी साधनमा यात्रा हुन्छ । त्यस यताका ८ दिन पदमार्गको यात्रा हुने शेर्पाको भनाई छ । दोस्रो दिन बागलुङ बजारबाट काठेखोला ३ को धम्जा ओखले स्थित बेलढुंगा होम स्टे, तेस्रो दिन ओखले देखि ताराखोला गाउँपालिकाको फेदी, चौथो दिन ताराखोलाबाट तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान सम्मको यात्रा हुनेछ ।

पाँचौ दिन बोंगोदोभानबाट बागलुङ म्याग्दीको सिमाना गुर्जाघाट, छैठौ दिन म्याग्दीको गुर्जाधारादेखि गुर्जाखानी, सातौ दिन गुर्जाखानीबाट ३ हजार ८ सय ५० मिटरको उचाईमा रहेको रघाचौर पासमा बास हुनेछ । त्यहाँबाट फेरी फर्किएर आठौ दिन गुर्जाखानीबाट लुलाङ, नवौ दिन लुलाङबाट दरबाङ र दशौं दिनमा दरबाङबाट तातोपानी या सवारी साधन मार्फत सिधै पोखरा जान सकिने गाइड शेर्पाले बताए ।

पर्यटन विकास समिति बागलुङका सचिव अर्जुन चोखालले बागलुङ हुँदैको पर्यटन रुटको बारे थाहा नभएको स्वीकार गरे । ‘हामी पर्यटकीय सम्भावनाकै खोजीमा अनवरत लागिरहेका छौ,’ सचिव चोखालले भने,‘हामी कस्तुरी जस्ता भएका रहेछौ, अब यो रुटलाई व्यापक प्रचार प्रचार गर्छौ, थप पूर्वाधार निर्माणका लागि पनि तिनै तहका सरकारसँग आवश्यक पहल र समन्वय गर्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *