बाढीले विद्युतगृह बगाएपछि चार महिनादेखि सोलार र टुकीको भरमा लुलाङ

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको एक गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरो बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुदाँ धवलागिरी गाउँपालिका–२, को लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको हो । 

गएको भदौ २० गते  बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा सिंगो वडाबासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । 

दर खोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह,कुलो र पोल बगाएपछि विद्युत अवरुद्ध भएपनि परियोजना पुनर्निर्माण नहुँदा स्थानीयबासीले रातको समयमा सोलार र टुकीको जोहो गर्न बाध्य भएका छन् ।

बाढीले विद्युत गृहसंगै चार वटा पोल र मुहानको केही बाँध तथा कुलो बगाएको लघुजलविद्युत परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए ।  बाढीले विद्युतगृहमा रहेका जेनेरेटर लगायत सबै उपकरण खोलाले बगाएको छ । विद्युत आपुर्ती बन्द हुँदा वडा नम्बर २ स्थित खोरीया ,लुलाङ्ग ,लमसुङ्ग लगायतका ३५४ घरधुरी प्रभावित भएका छन् । 

लघुजलविद्युत परियोजना मर्मत नहुदाँ विद्युतको माध्यमबाट चल्ने चार वटा मिल,फर्निचर ,बेकरी उद्योग ,मासु पसल, मोवाइल सेवा समेत प्रभावित भएका छन् । स्थानीयबासीसँगै विद्यार्थीलाई समेत पठनपाठनमा समस्या भएको स्थानीय प्रविना बिकले जानकारी दिए ।

यस अघि २०७३ मा पहिरोले जुगेपानि स्थित २५ किलोवाट क्षमताको विद्युतगृह बगाएपछि सोही परियोजनालाई २०७५ मा मरेनीको फेदीमा स्थानान्त्रण गरिएको हो । गाउँपालिकाको ५० लाख र बैकल्पिक उर्जा प्रद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयको श्रमदानमा मरेनीको फेदीमा २०७५ देखी पुनर्निर्माण सूरु गरिएको परियोजना २०७६ कात्तिकमा सम्पन्न भई विद्युत सुचारु गरिएको थियो ।

 विद्युत पुनर्निर्माण भएको साढे दुई बर्ष नबित्दै बाढीले विद्युतगृह बगाएपछि स्थानीयबासी थप चिन्तित बनेका छन् । विद्युत गृह ,कुलो ,बाँध र पोल बगाउँदा एक करोड ५० लाख रुपैयाँ बढीको आर्थिक क्षती भएको छ । परियोजना मर्मत तथा पुनर्निर्माणका लागि भौगोलिक अवस्थाको बारेमा सर्भे गरिएको छ ।परियोजनाको पुनर्निमाण ओसिएन कम्पनीले गरेको थियो ।

 गाउँपालिकाबाट दश लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दश लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । ‘मर्मतका लागि निरन्तर प्रयास भइरहेको छ,अब थप सुरक्षित हुने गरी मर्मत गरिनेछ’ अध्यक्ष पुनले भनिन् । परियोजना पुर्ननिर्माणको लागि १८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी दुई महिना भित्र परियोजना पुनर्निर्माण गरेर विद्युत सुचारु हुने गाउँपालिकाले जनाएको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *