डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको हाहाकार हुँदै आएको छ । समय–समयमा स्थानीयहरुले यस विषयमा सरकारसँग माग गरे पनि सुनुवाई हुन सकेको छैन । उनीहरु एक गाग्री पानी ल्याउनका लागि घण्टौँको यात्रा गर्नु पर्ने बाध्यता छ । सिंगो गाउँमै खानेपानीको समस्या हुँदा सरसफाई र कृषि उत्पादनमा समस्या भएको स्थानीय बताउँछन् ।
अर्नाकोट गाउँका करिब दुई सय पचास घरधुरीका नागरिकहरु खानेपानीको सहज पहुँचबाट वञ्चित छन् । गाउँ नजिक मुहान नहुँदा खानेपानीको समस्या हुँदै आएको स्थानीय वेग बहादुर कुवँरले बताउनुभयो । उहाँले एउटा मात्र सानो मुहान हुँदा एक गाग्री पानी भर्न पनि घण्टौँ कुर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
‘गाउँ वरपर खानेपानीको मुहान नहुँदा यो समस्या आइ परेको हो, पानीको मुहान भए त सरकारले सहयोग नगरे पनि हामी गाउँलेहरुनै मिलेर गाउँमा खानेपानीको व्यवस्थापन गथ्र्याैँ, मुहानै नहुँदा वर्षौँदेखिको समस्या अझै कायमै छ,’ कुँवरले भन्नुभयो ‘गाउँभन्दा मुहान धेरै टाढा छ, गाउँलेहरुले चाहेर पनि गाउँमा पानी ल्याउन सक्ने अवस्था छैन, एक गाग्री पानी ल्याउन घण्टौँ लाग्छ, समयमै पालो पनि पाउनै गाह्रो हुन्छ ।’
नेवा संस्थाको सहयोगमा लामो समयसम्म आकासे पानी घ्याम्पोमा जम्मा गरेर उपभोग गर्दै आए पनि त्यो पानी वर्षभरी नपुग्ने कुँवरले बताउनुभयो । अझै पनि अर्नाकोटका केही घर वरपर सिमेन्टबाट निर्माण गरिएका घ्याम्पाहरु प्रसस्त देख्न सकिन्छ । आकाशबाट आएको पानीलाई स्थानीयहरुले घ्याम्पोमा संकलन गरेर उपभोग गर्दै आएका थिए । खानेपानीको अभावमा यहाँका स्थानीयहरु पोखरी, कुवाको फोहोर पानी समेत उपोभाग गर्न बाध्य भएको कुँवरको भनाई छ ।
‘नेवा संस्थाको सहयोगमा गाउँमा आकाशे पानी संकलन गर्नका लागि घ्याम्पोहरु बनाइयो, घ्याम्पोको पानी धेरै समय पुग्दैन, पर्याप्त पानी नभएपछि खुवा, पोखरीमा भएको फोहोर पानी पनि उपभोग गर्नु प¥यो, पशुलाई पनि त्यही मानिसले पनि त्यही पानी खानुको विकल्पै नभएपछि के गर्नु ?’ उहाँले भन्नुभयो ‘फोहोर पानी प्रयोग गर्दा गाउँमा नागरिकहरु बिरामी हुने गरेका छन्, फोहोर पानीले सरसफाई त गर्न निकै गाह्रो, हुन त पानी नै फोहोर भएपछि कसरी सफाई गर्न सकिन्थ्यो र ?’
निसीखोला गाउँपालिका र कर्मफलाईट्स फाउन्डेशनको सहयोगमा गत वर्ष लिफ्टिङ मार्फत गाउँदेखि करिब ७ किलोमिटर तल हाँडीचार मुहनाबाट खानेपानी ल्याइएको थियो । एक वर्षसम्म लिफ्टिङ मार्फत गाउँमा पानी आए पनि विद्युत आपूर्ति र मोटर बिग्रिने समस्याले गर्दा नियमित पानी आपूर्ति हुन नसकेको कुँवरले बताउनुहुन्छ ।
लिफ्टिङ् मार्फत ल्याइएको पानीले एकसय नब्बे घरधुरीलाई पु¥याउने गरे पनि अहिले घरधूरी र गाउँमा जनसंख्या बढ्दा पानीको समस्या झनै बढेको स्थानीय लालबहादुर कुँवरले बताउनुभयो । उहाँले लिफ्टिङको मेशिनले काम गर्न छोडेको र उपभोत्ता दिनदिनै बढ्दा पानीको हाहाकार हुन थालेको बताउनुहुन्छ ।
‘गत वर्ष गाउँपालिका र एउटा संस्थाले लिफ्टिङ् मार्फत गाउँ पानी त ल्याइ दिए तर केही समयमै दुःख दिन थाल्यो, कहिले आउने, कहिले बन्द हुने गर्छ, अझ अहिले त मान्छेहरु पनि धेरै भएका छन्,’ कुँवरले भन्नुभयो ‘उपभोक्ता बढेको बढे छन्, मेशिनले काम गर्दैन, केही समय त गाउँमै पानी भर्न पाउँदा खुसी लागेको थियो, तर अहिले फेरी पुरानै चाल हुन थालेको छ ।’
स्थानीय छलविरा रसाइलीले आफूले ५० वर्षदेखि घण्टौको यात्रा गरेर पानी बोकेर उपभोग गरेको बताउनुहुन्छ । उहाँले बर्खाको समयमा आकाशे पानी प्रयोग गरे पनि हिउँदको समयमा गाउँभन्दा टाढा रहेको धारोमा पुग्ने गरेको बताउनुभयो । गाउँमा खानेपानी नहुँदा बालबालिकालाई विद्यालय पठाउन, सरसफाई गर्न र तरकारी खेति गर्न निकै समस्या भएको बताउनुहुन्छ ।
‘मैले घण्टौँ लगाएर पानी बोग्न थालेको ५० वर्ष बढी भयो, गाउँमा पानी छैन, पहिले त अलि–अलि आउँथ्यो, मान्छेहरु बढ्दै गएपछि पुग्नै छोड्यो, अहिले त झन् मुहानै सुक्यो, त्यसले गर्दा पल्लो गाउँमा गएर पानी ल्याउन बाहेक अरु उपाय छैन,’ रसाइलीले भन्नुभयो ‘पानी टाढा हुँदा केटाकेटीलाई स्कूल पठाउन, सरसफाई गर्न, गाईभैँसीलाई खुवाउन निकै गाह्रो भएको छ, यो चिसो महिनामा टाढाबाट पानी बोक्दा त निकै गाह्रो हुन्छ ।’