जोमसोम-कोरला सडक अन्तिम चरणमा

आदर्श अनलाइन, मुस्ताङ
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको ११० किलोमिटर सडकको सात खण्डमध्ये ६ खण्ड सम्पन्न भएको छ भने एक खण्डको काम अन्तिम चरणमा पुगेको हो ।

उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

झैटेदेखि चराङसम्मको १९ किलोमिटर, छोसेरदेखि कोरलासम्मको १४ किलोमिटर, जोमसोमदेखि ताङ्वेसम्मको १८ किलोमिटर, ताङ्वेदेखि चैलेसम्मको ११ किलोमिटर, चैलेदेखि भेनासम्म ११ किलोमिटर र भेनादेखि झैटेसम्मको १२ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको आयोजना प्रमुख जगत् प्रजापतिले बताउनुभयो । उहाँका अनुसार चराङदेखि छोसेरसम्मको २५ किलोमिटर लामो सडकमा ६५ प्रतिशतमात्रै प्रगति भएको छ । 

यस खण्डको जिम्मा लिएको तामाङ गौरी पार्वती कोसी न्यौपाने जेभीले सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नगरेपछि आयोजनाले बैँक जमानत जफत गरेको छ । आयोजनाका अनुसार, सडक अलपत्र पारेपछि निर्माण कम्पनीको एक करोड नौ लाख बैँक जमानत जफत गरिएको हो । 

‘ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गर्दासमेत कुनै पहलकदमी लिएन, यस खण्डको जिम्मा लिएको कम्पनीलाई कोभिडका कारण अन्तिम पटकका लागि चैत महिनासम्मको मात्रै समयसीमा थप भएको छ, विगत तीन वर्षदेखि काम अलपत्र छोडेपछि बैँक जमानत जफतसम्म पुगेका हौँ,’ आयोजना प्रमुख पराजुलीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्