सम्पादकीय
नेपालमा एक चर्चित कथन छ,–‘सानालाई ऐन, ठूलालाई चैन’ । पैसा, सत्ता र शक्तिको नजिक भएका र उनीहरु निकटले जे जस्ता अपराध कर्म गरे पनि छुट हुने संस्कारको आजको दिनमा पनि बोलवाला छ । देशमा थुप्रैको बलिदान, त्याग, समर्पण, संघर्ष, आन्दोलन र अभियानबाट विगतको तुलनामा वर्तमानमा धेरै सुधार प्रगति भएको छ । तर, व्यावहारिक रुपमा देशमा सही प्रणालीको विकास नहुँदा व्यक्तिवादी सोच, पात्र र प्रवृत्तिले सिंगो देशको व्यवस्था र राज्य माथि अनगिन्ती प्रश्न उठाएको छ । बेथिति, विकृति, बिसंगतिको उस्तै चाङ छ । आफू र आफ्नो मान्छे भएको ठाउँ, संस्था, निकाय सुध्रिनु नपर्ने, अरु सबै सुध्रिनु पर्ने सोचले समाज ग्रस्त छ ।
शक्तिशाली, ठूला मानिसहरुको मनोमानी चलिरहेको समाजका हर क्षेत्रमा बेथिति देखिन्छ । यसको एक उदाहरण नेपाल प्रहरीले अवैध सुन ओसारपसार र लागुऔषध ओसार पोसारमा पक्राउ गर्ने नेपालीलाई हेरे पुग्छ । जहाँ हरेक वर्ष दर्जनौको संख्यामा चरेश ओसार पसारमा पक्राउ पर्ने सामान्य नागरिक भरिया हुन्छन्, तर यसका मूख्य अभियुक्त अपवाद बाहेक पक्राउ पर्दैनन् । कथमकदाचित पक्राउ परिहाले पनि अनेक तिकडम गरेर उनीहरुले सफाइ पाउछन् । प्रहरीले पाँच वर्षअघि काठमाडौंमा बरामद गरेको साढे ३३ केजी सुन तस्करी मुद्दामा अधिकांश मुख्य आरोपीले सफाइ पाएका छन् । कसुर प्रमाणित भएकालाई पनि सजाय न्यून भएको छ । तर, सुन ओसारपसारमा संलग्न तल्लो तहका व्यक्तिलाई भने अदालतले धेरै सजाय सुनाएको छ । संगठित अपराधमा सबैले सफाइ पाएको तथा मुख्य लगानीकर्तालाई पनि सफाइ दिएपछि सरकारी वकिलले कति मुद्धा उच्च अदालतमा पुनरावेदन गरेका छन् ।
यस्तो किन हुन्छ ? नेपालमा अझै चुस्त सिस्टम (प्रणाली) को विकास भएको छैन । सीमित स्वार्थ समूहको चंगुलमा देशका मूख्य जिम्मेवार निकाय र त्यसमा आसिन व्यक्तिहरु नै प्रत्यक्ष अप्रत्यक्ष लाग्दछन् । यसमा राजनीतिक दल, जात, धर्म, लिंग, क्षेत्र जस्ता कुराले भूमिका खेल्दछ । न्यायालय जस्तो सर्वोच्च निकाय पनि अहिले चरम विवादमा छ । जसले न्यायिक फैसलामा नै गम्भीर अविश्वासको संकट पैदा गरेको छ । आजको समय, अवस्था र परिदृश्यले व्यवस्था बदलिएर मात्र हुँदैन, व्यवस्था सँगै सबै निकायमा बस्ने र आम नागरिकको सोच, सिस्टम, पात्र प्रवृत्ति बदलिएमा मात्र समाज र देशको अपेक्षाकृत परिवर्तन सम्भव छ । अन्यथा, सीमित व्यक्तिको सत्ता र शक्तिको भरमा रजगज चलिरहने छ ।