प्रयोगशालाका बन्दी

राम सुवेदी
हाम्रो देशको राजनीति प्रयोगशाला हो । चेतनाको स्तर कमजोर भएको मुलुकमा यसो हुनु सामान्य मानिन्छ । यहाँ जनतासँगै राजनैतिक नेताहरुको चेनतासमेत न्यून स्तरमा छ । यद्यपि आफूलाई माथिल्लो दर्जाको विद्धता अस्वीकार गर्ने वा राजनीतिमा विद्यार्थी जीवन स्वीकार गर्ने कुनैपनि दलको नेता हामी भेट्दैनौं । उनीहरको राजनैतिक नीति कार्यक्रम सत्ता बाहिरहूँदा जनमुखी सरकारमा पुगेपछि मनमुखी छ । जो आज राजनैतिक नेतृत्व अर्थात पार्टिसत्तामा छ । ऊ आफै प्रयोगशालाको बकरी बनेको छ । बन्दी बनेको छ । त्यो राजनैतिक पार्टिको समर्थक भन्नेहरु जो दीलोज्यान लगाएझै गरेर छेउँछाउँ कुदिरहेका छन् । स्वार्थको रतन्धोले अत्तोपत्तो पाउँदैन ।

देश परिवर्तनका नाममा व्यवस्था बदल्ने आन्दोलनले धेरै नेपाली जनताको जीउ ज्यान गयो । हजारौंका संख्यामा अंगभंग भएकाहरु अहिलेपनि तड्पेर बसेका छन् । राणाकाल, पञ्च्यायत, बहुदल, लोकतन्त्रहुँदै उन्नत र समुननत व्यवस्था भनिएको गणतन्त्रात्मक राज्य व्यवस्था अहिले देशमा छ । गरिबीको चपेटामा दबिएका, राज्यको रजाईवालाहरुबाट दबाइएका, सामाजिक कुसंस्कार, राजनैतिक विकृति र विसंगतिपूर्ण संस्कारले थलापरेको समाजमा, शिक्षा, चेतना र आर्थिक अभावमा नेपाली जनसमुदाय अझै बोझको जीन्दगी जिइरहेका छन् । नेपाली जनताले जीवन सुधारका लागि आन्दोलनको बाटो रोजे । त्यसको क्षति वा दुर्घटनामा स्वयं उनीहरु नै पीडित बने । तर प्रयोगशालाको राजनीतिले नेता बचायो । नेताको अवस्था फेरयो । उसका नातागोताले स्याहार पाए । जनताको उस्ताको उस्तै रहे ।

बर्गसत्ताको दर्शन सुनाउने र संसारका गरिखानेहरुको राज्यव्यवस्था ल्याउँछौं भन्दै गरिब गास काटेर पालिएका नेताहरु पार्टिसत्ता र राज्य सत्तामा घुमिपिरी मालिक छन् । आजका राजनैतिक मालिकहरु हिजो उनैलाई कलो खुवाउने जनताको भलो गरेनन् । उनीहरुलाई विभिन्न भ्रमजालमा राखेर दास बनाइयो । राजनैतिक प्रयोगशालामा सोझा इमान्दार कार्यकर्ता र समर्थकहरु यत्तिकै होमिए । अहिलेपनि निरिह, सोझा समर्थक र भोटरहरु यो बेथिति देखेर पनि बोलेनन् र कोल्न सक्दैनन्् । उनीहरु बारम्बार प्रयोगशालाका कच्चा पदार्थ भइरहेकै छन् । यो बेतिथिप्रति प्रश्न गर्नेहरुलाई धपाउने, खेद्ने, बद्नाम गर्ने, गालीगलौज गर्ने, हुँदाहुँदा एक नेताले आफ्नै कार्यकर्ताहरु पुरोहितका गाइहरु भन्न भ्याएछन् । राजनैतिक विद्धान भनिएका र कहलिएकाहरुको भाषिक औकात यतिसम्म तल झरेपछि, नेपालको राजनैतिक चेतनास्तरले मान्छेको मगजमा गजगज बनाइरहेको छ ।

नेपाली राजनैतिक भ्रष्टिकरणमा यिनै प्रयोगशालाका कार्यकर्ताहरुको योगदान छ । ‘रातको रजाई र दिनको भजाई’ले विग्रिएको राजनैतिक थिती, यो परिपाटिले सुध्रदैन । ‘जहाँ पुत्त, त्यहाँ फुत्त’, गर्ने अवसरवादी मनोवृत्तका नेता कार्यकर्ताले समाजमा भ्रष्टिकरण नै सिकाएका छन् । स्वार्थ नमिल्दा एकअर्कालाई नाँगेझार पार्ने यिनीहरु, स्वार्थ मिल्दा नालजोडेर कुद्छन् । दुनियाँ हसाउँछन् । राजनीतिमा लाज, शरम भन्ने नगन्य नैतिकताका पानामा च्यापिएका अक्षर भइसके । इमान्दारिता र कर्तव्यहरु स्वार्थको भेन्टिलेटर पुगिसक्यो । जनतासँग गरिएका बचन र जमानले मसखमा मास्क लगायो । प्रयोगशालाका मेटिरिएल्सहरु बेथिति विकृत्तिको सेनिटाइजर दलेर चुपचाप स्वार्थको सडक चहार्दै छन् ।

औचित्य पुष्टि गर्न नसक्ने तर्क वितर्क, नीति नियम र दर्शनले मान्छै बोलाहा बनाउदैछ । परिवर्तन सामान्य पनि छैन । इमान बेचेर फुलिएको पेट, गरिब, दुखी जनताको भलो बिर्सेर भइरहेको घोंडाचढी भेट, राजनैतिक दर्शननै दाउमा राखेर जवरजस्त नकचरो अनुहार ङिच्च पार्दै निमूखालाई राज्यभारमा ऋण लगाएर बनेका प्रतिनिधिहरु आजमात्र होइन । सदियौं गाली खाइरहनेछन् । हुँदाछँदाको चरित्र सत्यानास गर्न नयाँ भेरिएन्टको सन्त्राससँगै मुरकुट्टा ओछ्यानमा सुत्नु जरुरी छैन । राज्यसत्तामा बसेर जनताको भलो गरिदैन, बारम्बार खोपीको चित्रदेखाएर चरित्र बेच्दैगरेका जनप्रतिनिधिहरु आफ्नो कर्मको औचित्य पुष्टि गर्न पर्दैन भने, आफ्ना र आफन्तहरुलाई प्रयोगशालाको अगेनामा पोल्न जरुरी छैन । जीवनको उत्तरार्धमा चुसेर फालेको उँखुको खोस्टाझै सडकमा फ्याकिदिंदा बल्ल जीवन जगतको गतिलो अनुभूति ति मेटिरिउल्सहरुलाई हुनेछ । अहिलेपनि अन्तरमनका कुनामा यत्तिकुरा चास्सचुस्स घचाकघुचुक नभएको हाईन होला तर केही होला कि भनेर गरिएको बर्षौको रहरवाला समाजसेवा, दुइचारका अघि राजनैतिक पदीय हैसियतसंग जोडिएको कुर्सी, प्रयोगशालाका बन्दीअघि देखिएको तमासाले दिमाग रिंगाएका कारण बद्नामी संगतले पनि तत्काल बानी फेर्न कठिन छ ।

यो कर्मको फल ऐरेलु नै फलेको पक्का छ । त्यसलाई सफाई गर्न होइन, थप मलजल गर्नतर्फ आसे पासेहरुको जोड देखिन्छ । आफ्ना मासेर अर्काको दलानमा हर्षबडाई गर्ने प्रवृत्ति गलत हो भन्नेहरु मुखमा भयानक अनुशासनको चुकुल लगाउँछन् । कसैले बोलि हाल्यो, त्यही अनुशासनको डण्डाले टाउकोमा सेकिन्छ । क्या गज्जव प्रयोगशालाका मान्छेहरु । ठीकलाई ठीक र गलतलाई गलत नै भन्न नसक्नेहरु खै के स्वार्थको लठ्याईमा उभिएर बकबक गर्छन् । त्यो पनि नकरात्मक हिसावले सकरात्मक मजा आउँने रहेछ । टुप्पीदेखिको बल लगाएर लहै भन्नैहरु आज प्रयोगशालाका नयाँ रसायन बनेर चम्कीरहेका छन् । थोत्रा भाँडामा टल्केका देखिन्छन् । यो पनि आजको राजनैतिक प्रयोगशालाका एक पक्ष हो ।

गलत कर्म, नकरात्मक निर्णय र त्यसले पारेको असरलाई सामान्य मान्ने स्वार्थ राजनीतिको चरित्र हो । तर्कहरु अनेक हुनछन् । विचारको विविधतामा बहश भएर नयाँ नीति योजना ल्याउनु पो प्रगतीशिल राजनीति हो । अनेकतामा एकता खोज्ने पो अग्रगामी नेतृत्व हो । असहजतामा सामन्यजस्यता रोज्ने पो सार्थक समर्थक हो । एकलकाटे विचार, द्धेध चरित्रको निर्णय, स्वार्थ अनुकुलको परिभाषा, चरित्रहिन अभ्यास रोज्ने र त्यसको रक्षाका लागि भए नभएको बल लगाएर बिष्टि झार्नु अधोगति हो । असामान्य हो । नैतिक हिनता हो । चरित्रहिनता हो । गल्ती कहाँ भयो पत्तो नपाउनेहरु प्रयोगशालामा अधिक रहेछन् । लाग्छ, ब्याट्री सकिएको रेडियो बोकेर मेकानिककहाँ जानेहरुको जमातले देश परिवर्तन गर्छ भनेर अझै प्रयोगशालामा सिकाईन्छ, पढाइन्छ, घोकाइन्छ र उनीहरुलाई मेकानिकहाँ पठाईन्छ । थाहा छैन । प्रयोगशालाले देशलाई कता धकेल्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *