एमाले बागलुङको अधिवेशन : ६ सय बढी प्रतिनिधि एकै साथ छनोट गरिने

आदर्श अनलाइन, बागलुङ
पुष २३ गते हुने नेकपा एमाले बागलुङको नवौ जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भैरहेको छ । अधिवशेनबाट नया नेतृत्व चयनका लागि निर्वाचनको समेत आन्तरिक तयारी भइरहेको छ ।

अधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि नेताहरुले भेटघाट लगायतका गतिविधिलाई बढाइरहेका छन् । नेकपा एमालेले १० औं महाधिवेशनको पूर्व सन्ध्यामा बागलुङका वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । अहिलेको जिल्ला अधिवेशन समेत सर्वसम्मत रुपमा गर्ने तयारीमा नेताहरु कस्सिएर लागि परेका छन् ।

नेकपा एमाले जिल्ला कार्यबाहक अध्यक्ष कृष्ण पाठकले जिल्ला अधिवेशन सौहार्द वातावरणमा सर्वसम्मतीमानै गरिने बताउनुभयो । “अहिलेको वर्तमान अवस्थामा सर्वसम्मतीमानै नेतृत्व चयनका लागि केन्द्र देखि वडा तह सम्म सर्कुलर हो” पाठकले भन्नुभयो “मिल्दै नमिलेको अवस्थामा विधान अनुसार त हुँनै नै भयो ।”

नेतृत्वका लागि चुनावनै हुँने अवस्थामा मैदानमा उत्रने धेरैको आंकक्षा देखिएको छ । यद्यपी मुख्य प्रतिस्पर्धामा थोरै उमेदवार हुने आंकलन गरिएको एक जिल्ला नेताले बताए । जिल्लाको नवौं अधिवेशनमा डिजिटल प्रविधिको प्रयोग गरी प्रभावकारी रुपमा गरिने पाठकको भनाइ छ । पुष १६ गते जिल्लाका ८५ वडामा एकैसाथ प्रतिनिधि चयन हुने भएका छन् ।


जिल्लाभरबाट अधिवेशनमा ६ सय ३३ प्रतिनिधि सहभागी हुने नेकपा एमाले बागलुङले जनाएको छ । एमाले बागलुङको नेतृत्व गर्नका लागि पाँच जनाको चर्चा चलेको छ यद्यपी सचिव पदमा भने नेत्र विष्टले सामाजिक सञ्जालमार्फत आफ्नो दावी प्रस्तुत गरेका छन् । तर सचिव पदका लागि आन्तरिक रुपमा भने केही नेताहरुले लबिङ गरिरहेका छन् । जिल्लाको जिम्मेवारीमा रहेका र अन्य तहमा जिम्मेवारीमा रहेका समेतले पदाधिकारीमा लविङ गरेको स्रोतले बताएको छ ।

अध्यक्षका लागि प्रदेश कमिटि सचिवालय सदस्य जनकराज पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा, कार्यबाहक अध्यक्ष कृष्ण पाठक र सचिव विष्णु भुषालको चर्चा रहेको छ ।

नेकपा एमाले बागलुङ जिल्लामा ५ हजार २ सय २६ जनाले पार्टीको सदस्यता लिएको र थप १० पालिकामा एक हजार ६ सय सदस्य बृद्धि गरिएको छ । नेतृत्वका आकाङ्क्षी मध्ये जनकराज पौडेलले यस भन्दा पहिला २ पटक जिल्लाको नेतृत्व गरिसक्नु भएको छ भने हाल उहाँ बागलुङ नगरपालिकाका नगर प्रमुख हुनुहुनछ । अर्का प्रत्यासी हिरा बहादुर केसी यस भन्दा पहिला जिल्ला उपाध्यक्ष भइसक्नु भएको छ । उहाँ २०७० को संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा एमालेको उमेदवार हुनु भएको थियो । नेपाली कांग्रेसका उमेदवार हरि खड्कासंग केसी पराजित हुनु भएको थियो । अध्यक्षका दावेदार प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा अखिल नेपाल महिला संघ बागलुङको संस्थापक अध्यक्ष हुनु हुन्छ ।

अध्यक्षका दावेदार मध्ये कृष्ण पाठक आठौं जिल्ला अधिवशेनमा उपाध्यक्षमा निर्वाचित भई हाल कार्यवाहक अध्यक्ष र विष्णु भुषाल आठौ जिल्ला अधिवेशनमा उपसचिवमा विजयी भई हाल सचिव पदको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । देशको प्रमुख पार्टीको जिल्ला नेतृत्वका लागि धेरैको आकांक्षा हुनु अन्यथा नभएको एक एमाले जिल्ला नेताले बताए । एमालेमा सबैलाई व्यवस्थापन गर्ने कला छ, सबैलाई व्यवस्थापन गरेर नेतृत्वले सर्वसम्मतरुपमा आगामी नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे । पुस १६ गते प्रतिनिधि चयन भइसकेपछि उमेदवारहरुको थप सक्रिय बढ्ने देखिएको छ । अहिले नेतृत्वमा दावी गर्नेहरु प्रतिनिधि चयनमा केन्द्रीत भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *