पुलाडाँडामा भेटियो मल्लकालीन ऐतिहाँसिक ओखल

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका ५ पुलाडाँडामा तत्कालिन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको छ । आजभन्दा करिब पाँचसय वर्ष पहिला पर्वत राज्यको विरासतसंग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहाँसिक महत्वका सामाग्रीहरु रहेका भएपनि पहिचान र संरक्षणको अभावमा अलपत्र परेका छन् ।

अलपत्र परेका ती ऐतिहाँसिक सामाग्रीहरुमध्ये कालो पत्थर (ढुङ्गा) लाई छिनाले कुँदेर बनाइएको ओखल अहिले पुलाडाँडाको खुला ठाउँमा अलपत्र अवस्थामा छ ।  त्यतिबेलाका पर्वते प्रतापि राजा डिम्ववम मल्ल (उनलाई दिलिपवम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालिन राजधानी बनाएकोले यस ठाउँमा बसुन्जेलसम्म त्यही ओखलमा धान कुट्न लगाएर दरबारका सदस्यहरुले भात खाने गरेका प्रमाणहरु भेटिएका स्थानीय रामबहादुर बानियाँले जानकारी दिनुभयो । यस क्षेत्र ऐतिहाँसिक रुपमा मात्रै होइन जैविक,धार्मिक र प्राकृतिक महत्वले समेत युक्त रहेको उहाँको भनाइ छ ।

प्राकृतिक तथा ऐतिहाँसिक ठाउँहरुको अनुसन्धानमा लाग्नुभएका म्याग्दीका क्षेत्रबहादुर भण्डारीले सो ऐतिहाँसिक ओखल फेला पारेर सामाजिक संजालमा राखेपछि अहिले ओखल हेर्नका लागि पुलाडाँडामा आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको  म्याग्दीका इतिहाँसकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ । “कहिले राजा बेनी बाग्लुङ्ग, कहिले राजा ढोर” भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहाँसिकतालाई पुष्टि गर्ने स्थानीय शिब बानियाँले बताउनुभयो ।

राजनीतिक,कुटनीतिक र सामरिक दर्शन तथा  त्याग र बलिदानको इतिहाँसका साथसाथै अपार पर्यटकीय सम्भावना बोकेको यस क्षेत्र बाहिर जति चर्चामा आएपनि म्याग्देलीहरुका लागि भने “बेल पाक्यो, कागलाई न हर्ष न विस्मात” भने झैं भएको उहाँको भनाइ छ ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहनुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताउनुभयो ।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ/दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।

बानियाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको कहिल्यै प्रचारप्रसार हुन सकेन, यदि राम्रोसंग प्रचारप्रसार गरी सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।”

ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्र्रे, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालका लर्कनहरु आँखैअगाडि ठिंग उभिएको देखिन्छ । ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो । यस गाउँमा नै प्रशिद्ध जगन्नाथ मन्दिर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *