सहकारी बचत र लगानीमा मात्र केन्द्रित हुनु हुँदैनः सांसद केसी

आदर्श अनलाइन, बागलुङ
संघीय सांसद तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मन कुमारी केसीले सहकारी संस्थाहरु सहकारी ऐन अनुसार सञ्चालनमा आउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १२ औँ साधारण सभाको अवसरमा बोल्दै केसीले सहकारी ऐन अनुसार सञ्चालनमा नआएका सहकारीलाई राज्यले कानुनी दायरामा ल्याउने तयारी गरेको समेत बताउनुभयो । उहाँले सहकारीले आफ्नो उद्देश्य अनुसार अनिवार्य काम गर्नुपर्ने भन्दै बचत र कर्जा लगानीमा मात्र केन्द्रीत हुन नहुने बताउनुभयो ।

स्वाभिमान सहकारी संस्था बागलुङका क्षेत्रीहरुले स्थापना गरेको भएपनि सहकारीको नियम अनुसार सबैको लागि सदस्यता खुल्ला हुनुपर्ने उहाँको भनाई थियो । क्षेत्रीका हक अधिकार सुनिश्चित गर्न, क्षेत्रीलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन सहकारीले भुमिका खेल्दै आएको भएपनि सहकारीको सिद्धान्त अनुसार सामाजिक उत्तरदायित्तव समेत स्वाभिमानले वहन गर्नुपर्नेमा केसीको जोड थियो ।

साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी अन्जुले सहकारीलाई मजबुत बनाउँनको लागि सहकारीका सञ्चालक र कर्मचारी अब्बल हुनुपर्ने बताउनुभएको थियो । उहाँले एक व्यक्ति धेरै सहकारीको शेयर सदस्य, सञ्चालक र लेखा समितीमा समेत रहेको भन्दै सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुनुपर्नेमा जोड दिनुभयो । संस्थालाई हित हुने सहकारीका ऐन नियम सहकारीकर्मीले पालना गर्नु गराउनु जिम्मेवारी भएको भन्दै जिसीले सहकारीको हित विपरित आएका ऐन नियमको बारेमा सहकारीका अगुवाले सच्याउनको लागि पहल गरिरहेको समेत बताउनुभयो ।

साधारण सभामा राष्ट्रिय सहकारी वैंकका सञ्चालक रामबहादुर जिसी, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवरले बोल्नुभएको थियो ।

साधारण सभाले कर्मचारी तर्फ उत्कृष्ट भएको भन्दै शहनशिला केसीलाई सम्मान गरेको छ । ‘बचत हाम्रो अभियान,बनौ हामी स्वाभिमान’ भन्ने मुल नाराका साथ सञ्चालित सहकारीले आर्थिक वर्ष ०७७÷०७८ मा १९ करोड ७० लाख ९१ हजार १ सय ५८ रुपैयाँको कारोबार गरेको संस्थाका कोषाध्यक्ष रेणु केसी हमालले बताउनुभयो । केसीले संस्थामा शेयर बचत र अन्य गरि ८ करोड २५ लाख १२ हजार २ सय १३ रुपैयाँ कुल सम्पत्ती रहेको बताउनुभयो । संस्थामा हाल ६ सय ६७ जना शेयर सदस्य रहेका छन् ।

साधारण सभाले सचिव लेख बहादुर खड्काले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेणु केसी हमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक लक्ष्य बहादुर रायमाझीको लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्ष शिवकला थापाको अध्यक्षता, उपाध्यक्ष सूर्यबहादुर महतको स्वागत तथा सचिव लेखबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *