बागलुङमा मतदान शुरु

दिल शिरीष, बागलुङ

आज हुन लागेका गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्षको निर्वाचनमा बागलुङमा अहिले मतदान शुरु भएको छ ।

बागलुङ क्षेत्र नम्बर–२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा विहान ७ बजेदेखि मतदान शुरु भएको निर्वाचन अधिकृत खिमबहादुर बिकले बताए । मतदान साँझ ५ बजे सम्म जारी रहनेछ । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ । स्वयंसेवक समेत गरी कूल ४ सय ५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित छन् ।

एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, कार्यालय सहयागी एक र चार स्वंयसेवक गरी नौजना खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।

प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवार घर्तीले वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरको जिल्लाको माग सहित मत मागेको छ ।
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यसैगरि, बडिगाड गाउँपालिका वडा नम्बर–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदमा सत्तारूढ नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली काँग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन् ।
तस्बिरः जिल्लाको निसीखोला गाउँपालिकामा मतदानका लागि लाइनवद्ध स्थानीय ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *