चर्चामा निसीखोलाको सिप क्षेत्र, हिउँ खेल्नेको भिडभाड

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ६ सिप, लुप्राबाङ क्षेत्र जिल्लाकै सबैभन्दा दूरका गाउँ हुन् । आधा दशक अगाडीसम्म ओझेलमा रहेको यस क्षेत्र विकासका हिसाबले निकै पछाडी थियो । मध्यपहाडी लोकमार्गको विस्तारले यहाँको विकास र चर्चा एकाएक हुन थालेको छ । पर्याप्त स्रोत साधान भएको यस क्षेत्र प्रयोगविहीन छ ।

मध्यपहाडी लोकमार्गले एक दशक अगाडीनै जोडिएपछि सिप क्षेत्रमा खास्सै विकास हुन सकेको थिएन । चर्चा पनि निकै कम थियो । तर लोकमार्ग पिच भएपछि यहाँको प्रचारप्रसार हुन थाल्यो । प्रचारप्रसारकै कारण अहिले यस ठाउँ जिल्लामा उत्कृष्ट गन्तव्य बन्दै गएको छ । उच्च पहाडी हावापानी रहेको यस क्षेत्रमा बाह्रै महिना मानिसहरुको आवतजात हुन थालेको छ ।

बागलुङ र पूर्वी रुकुमको सिमानाभन्दा केही तल रहेको सिप पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा छरप्रस्ट छ । सिप र लुप्राबाङलाई केही दिन अगाडी परेको हिमपातले गर्दा अझै बढी चिनाएको छ । यी दुबै ठाउँ लोकमार्गमै पर्छन् । यसभन्दा अगाडी आन्तरिक पर्यटकहरु सिधै सिमाना पुग्ने गर्थे भने अहिले सिमानासम्म पुग्ने अवस्था छैन । हिउँले सडक बन्द छ ।

त्यसले गर्दा यही क्षेत्रमा सयौँ मानिसहरुलाई हिउँ खेल्ने अवसर प्राप्त भएको छ । हिउँ नपर्दा सयौँ नागरिकहरु बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्ने पुग्ने गर्थे । अहिले सिमाना घुम्न हिँडेकाहरु पनि सिप र लुप्राबाङबाटै फर्किएर आउने गरेका छन् । सिमाना पुगेर हिउँ खेल्नेहरु अहिले यही क्षेत्रमा खेल्न पाएका छन् । हिउँ परेपछि सिप क्षेत्रमा करिब पाँच हजार बढी मान्छे घुम्न पुगेको स्थानीयको अनुमान छ ।

हिउँ खेल्न आउने मानिसहरुको भिड दिनदिनै बढ्दै गएको स्थानीय ओम घर्ती मगरले जानकारी दिनुभयो । उहाँले मान्छेहरुको आगमन धेरै भएपछि होटल व्यवसयाहरु पनि राम्र्रो चलेको उहाँको भनाई छ । घर्तीले पछिल्लो ३/४ दिनको अवधीमा सिप क्षेत्रका होटल व्यवसयाहरुले राम्रो आम्दानी गरेको बताउनुहुन्छ ।

‘पहिला मान्छेहरु सिमानामा सिधै जाने गर्थे, अहिले हिउँले गर्दा बाटो बन्द छ, तल तलका होटलहरु खुब चलेका छन्, अहिले त मान्छेको चाप पनि निकै बढेको देखियो,’ घर्ती मगरले भन्नुभयो ‘यो समयमा स्थानीय उत्पादनहरुले पनि राम्रो मूल्य पाए, स्थानीयहरुपनि खुसी भएका छन्, पहिले त सिमाना पुग्ने केही मान्छे मात्रै यहाँ बसेर खाजा खाने गर्थे व्यापार खास्सै थिएन, यसपाली चाही राम्रो भएको छ ।’

बुधबारदेखि शुक्रबारसम्म दैनिक पाँच सय बढी र शनिबार एकै दिन करिब दुई हजार मानिहरु हिउँ खेल्न सिप क्षेत्रमा पुगेको स्थानीयको भनाई छ । बालबालिकादेखि वृद्धवृद्धासम्म हिउँ खेल्न पुगेका थिए । बागलुङको विभिन्न क्षेत्र र गुल्मी लगायतका ठाउँबाट मानिसहरु हिउँ खल्ने सिप पुगेका थिए ।

हिउँले अवरुद्ध सडक खुलाउन सकस
मंगलबारदेखि दुई दिन परेको हिमपातले सिप–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ । सडकमा बाक्लो हिउँ भएको हुँदा यातायातका साधान संचालन हुन सकेको छैन । बागलुङ तर्फबाट मापुपसम्म गाडीहरु पुग्ने गरेको निसीखोला वडा नम्बर ६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँले सडकमा बाक्लो हियँ जमेको हुँदा सिमानासम्म अझै पनि गाडी पुग्न नसकेको बताउनुभयो ।

‘सडकामा निकै बाक्लो गरि हिउँ जमेको हुँदा गाडीहरु संचालन हुन सकेको छैन, यस पटक निकै सिपसम्मै बाक्लो हिउँ परेको थियो,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘सडक अवरुद्ध नै छ, रुकुमबाट काठमाडौँ चल्ने गाडीहरु पनि चल्न सकेका छैनन्, रुकुम तर्फबाट खुलाउने प्रयास गरेको भन्ने खबर पाएका छौँ ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले सडक खुलाउने काम भइ रहेको बताउनुभयो । उहाँले भारी हिमपात भएको कारण बागलुङ तर्फबाट सडक खुलाउन थाल्दा मेसिन हिउँमा फसेपछि रुकुम पूर्वबाट खुलाउँदै आएको मेसिनले सडक खुलाउने बताउनुभयो ।

अध्यक्ष पौडेलले काठमाडौँबाट रुकुम हिँडेका यात्रुहरु हिउँले सडक अवरुद्ध अलपत्र परेको र उनीहरुको उद्धार गरि बुटवल तिरबाट पठाएको बताउनुभयो । घाम लागे केही दिनमै सडक संचालनमा आउने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *