कोरोना मृतकका परिवारलाई काठेखोलाको बीस हजार

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजारका दरले राहत प्राप्त गरेका छन् । मृत्यु भएकाको परिवारलाई गाउँपालिकाले नगद राहत प्रदान गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु. तीन लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना संक्रमणका कारण हाल सम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई २० हजारका दरले राहत रकम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो । “गाउँपालिका भित्र १८ जना संक्रमणका कारण ज्यान गुमाउन पुग्नुभयो, हामी अत्यन्तै दुखी छौं, ज्यान गुमाउनेको परिवारको लागि सानो भएपनि राहत होस भन्ने हेतुले रकम प्रदान गरेका छौं” थापाले भन्नुभयो “दुखद्को घडिमा स्थानीय सरकारले घाउँमा मल्हम मात्रै लगाउन खोजेको हो, कोरोनाका कारण वेरोजगार भएर नेपाल आएकालाई सिमा नाकाबाट घर ल्याउने, क्वारिन्टिनमा राख्ने, परिक्षण, औषधी उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा समेत दिएको थियो ।”

गाउँपालिकाले १८ परिवारलाई २० हजारका दरले रु. तीन लाख ६० हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोरोनाका कारण वेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई सफल बनाइराखेको छ । हाल सम्म १८ जना मृतकका परिवारलेनै राहत रकम पाइसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कोरोना महामारीमा काठमाण्डौं, काँकडभित्ता, सुनौली लगायतबाट नागरिकको निःशुल्क उद्दार समेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको छ । जस अन्र्तगत बागलुङ जिल्लाका १० जना मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात संकलनको काम भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

जिल्लामा कोरोनाबाट मृत्यु भएको संख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारको क्रममा मृत्यु भएकाको संख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौं, संकलित तथ्याङ्कबाट मासिक रुपमा हामीले भुक्तानी गर्ने गरेका छौं” गुरौले भन्नुभयो “जिल्लाका केही पालिकाले समेत मृतकका परिवारलाई राहत रकम वितरण गरेको जानकारी पाएका छौं, जसमध्ये काठेखोलाले प्रति परिवार २० हजार दिएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *