प्रचण्डलाई चुनौतीको चाङ

सम्पादकीय
नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । राजधानीमा सम्पन्न माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड सर्वसम्मत अध्यक्षमा चुनिने पूर्ववत अनुमान थियो । किनकि यसपटक उनलाई नेतृत्वका लागि चुनौती दिने अर्को कुनै नेता थिएन । कुनै बेला माओवादीको फरक धारमा देखिएर नेतृत्वमा सिधै टक्कर दिने बाबुराम भट्टराई, मोहन बैद्य किरण, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्द विप्लव अहिले भिन्न भिन्न पार्टीमा नेतृत्वदायक भूमिकामा छन् । प्रचण्ड स्वयम्ले नेतृत्वका लागि आफू जबर्जस्त अघि नबढ्ने भाषण गर्दै गर्दा अन्ततः समय, परिस्थिति र परिवन्दले नेतृत्व सम्हाल्न लागेको बताइरहेका छन् । जबकि उनलाई वर्षौ सम्म पार्टी नेतृत्व सम्हालिरहेको र नयाँ नेतृत्व तयार गरेर नेतृत्व हस्तान्तरण नगरेको विषयले तीव्र आलोचित पनि छन् ।

माओवादीले सुरुमा सम्मेलन भनेर अन्तिम समयमा महाधिवेशनमा रुपान्तरित गरेको थियो । जहाँ वैचारिक रुपमा राम्रै छलफल र बहस भयो । भलै नेतृत्व चयनमा नेताहरुकै तजबिजबाट नेता छान्ने एमालेकै बाटो र विकल्प माओवादीले रोज्यो । जबकि प्रतिनिधिको विवेकबाट नेतृत्व चयन गर्ने अधिकारमा नेतृत्वले मनोमानी गरेकोमा एमाले र अध्यक्ष केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो । अहिले माओवादी त्यही पथमा जाँदा पनि उस्तै आलोचित भइरहेको छ । महाधिवेशनबाट प्रचण्ड सहित २३६ केन्द्रीय सदस्य चयन भएका छन् । त्यसमा अधिक अनुहार पुरानै छन् । यद्यपि, यसपटक माओवादीले समावेशी समानुपातिक प्रणाली मात्र अपनाएन, युवाहरुको अनिवार्य प्रतिनिधित्वको व्यवस्थाले नेतृत्व विकासमा मार्ग प्रशस्त गरेको छ ।

प्रचण्डले सहज र सर्वसम्मत नेतृत्वको अवसर प्राप्त गरे पनि अबका दिन उनका लागि सजिलो अवश्य छैन । उसो त जनयुद्धदेखि जनआन्दोलन हुँदै आजको दिन सम्म आइपुग्न पनि प्रचण्डलाई सजिलो थिएन । माओवादी जनयुद्ध, जनआन्दोलन, संविधान सभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत एजेण्डाहरूको सूत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै सर्वमान्य छन् । मुलुकको पछिल्लो राजनीति, समिकरण बिच माओवादी केन्द्रको अबको भूमिका के रहन्छ ? पार्टीको सांगठनिक र निर्वाचनमा अवस्था कस्तो रहनेछ ? अब हुने तीन तहको चुनावी प्रतिस्पर्धामा पार्टीलाई कसरी स्थापित गर्ने ? पार्टी भित्रै सिर्जित गुट, उपगुट, अनेक असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने ? पार्टी र देश निर्माणमा स्खलित हुँदै गरेको प्रचण्डका लागि मूख्यतः यी र यस्तै चुनौतीहरुको चाङ छ । यसलाई छिचोलेर अघि बढ्न सफलता मिलोस् । अध्यक्ष प्रचण्ड सहित निर्वाचित सबै केन्द्रीय नेतृत्वलाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *