सिले गाउँको घर–घर धारा

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर २ सिलेमा दुई दशकभन्दा अगाडी लुथ्रन संस्थाले खानेपानी व्यवस्थापन गरि दियो । स्थानीयहरुले अहिलेसम्म उही आयोजनाको पानी उपभोग गर्दै आएका थिए । लामो समयसम्म पुरानै आयोजनाको पानी प्रयोग गर्दै आउँदा गाउँमा खानेपानीको अपुग भएको थियो । गाउँमा जनसंख्या वृद्धि भएपछि सीमित धाराबाट स्थानीयले पानी उपभोग गर्नु पर्ने अवस्था थियो ।

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिकाले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)लाई आयोजनाको लागि आग्रह गरेको थियो । नेवाले वि.सं. २०७६ सालमा गाउँमा सर्वे गरि आर्थिक वर्ष २०७७/०७८ मा आयोजना परेको थियो । सो योजनाको केही समय अगाडी निर्माण कार्य सम्पन्न भएपछि अहिले गाउँमा खानेपानीको सहज पहुँच पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ ।

हरेक घरमा धारो निर्माण भएपछि गाउँलेहरुमा खुसी छाएको छ । ५७ घर रहेको सिले गाउँमा ५७ वटै धारा बनेका छन् । नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताउनुभयो । उहाँले पुरानो धाराहरु जीर्ण भएको र उक्त धाराबाट १०÷१२ घरकाले पानी प्रयोग गर्नु पर्ने बाध्यता रहेको स्मरण गर्नु भयो । उहाँले तकारी खेति तथा अन्य बालिनालीमा पनि पानी लगाउन नपाइएको भन्दै अब धेरै सहज हुने बताउनुभयो ।

‘गाउँमा थोरै धाराहरु थिए, त्यही धारोबाट गाउँलेहरुले पाइप जोडेर घर–घरमा पानी लैजाने गर्थे, तर पालो कुर्नु पथ्यो, पर्याप्त थिएन, धारोहरु सबै पुरानो भएका थिए, पानी पनि सानो आउँथ्यो, त्यसले गर्दा गाउँलेहरुलाई समस्या भएको थियो,’ घर्ती मगरले भन्नुभयो ‘अब त सबैको घरमा नयाँ धारो बनेको छ, खानेपानीको अभाव हुन्न होला, सरसफाई गर्न पनि समस्या, तरकारी खेति गर्न पनि समस्या थियो ।’

सिले वासमर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा पानी समस्या बन्दै गएबको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको बताउनुभयो । उहाँले पुरानो आयोजना गाउँलेले निकै दुःखको साथ निर्माण गरेको भन्दै लामो समय सोही आयोजनाको पानी उपभोग गर्दै आएकोमा पछिल्लो समय गाउँमा जनसंख्या बढ्दै गएपछि गाउँमा पानीको थप व्यवस्थापन गर्नु परेको बताउनुभयो ।

‘सुरुमा पनि विभिन्न संघ संस्था तथा निकायहरुले यस गाउँमा खानेपानीको प्रबन्ध मिलाई दिनुभएको थियो, गाउँमा जनसंख्या वृद्धि भएपछि त्यो खानोपानीले थेग्न सकेन, धारोहरु पनि पुराना भए, पाइपहरु पनि पुरानो भएर धारोमा सानो पानी आउन थाल्यो गाउँमा पानी पु¥याउन नै गाह्रो भएपछि गाउँपालिका र नेवालाई सहयोग मागेपछि अहिले गाउँमा एक घर एक धारो भनेको छ,’ उहाँले भन्नुभयो अब गाउँमा खानेपानीको समस्या हुने छैन ।’

अध्यक्ष रोकाले गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयहरुलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले अब गाउँमा पानीकै कारण छरछिमेकीहरु बिच झै झगडा गर्नु पर्ने अवस्था भएको भन्दै सरसफाईयुक्त गाउँ निर्माण गर्न सहज हुने बताउनुभयो । खानेपानी अभावको कारण विद्यार्थीहरुले ठूलो समस्या भोग्नु परेकोमा अब उक्त समस्या समाधान भएको अध्यक्ष रोकाको भनाई छ ।

नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको बताउनुभयो । कोइरालाले जिल्लाभर नेवाले खानेपानीको समस्या भएको ठाउँहरुमा सहयोग गर्दै आएको भन्दै सिलेमा पनि स्थानीयको समस्यालाई समाधान गरेको बताउनुभयो ।

यो खानेपानी आयोजना ३७ लाख ३५ हजार ८ सय २७ को लागतमा निर्माण सम्पन्न भएको कोइरालाको भनाई छ । नेवाको २० लाख ४१ हजार ३२९, ताराखोला गाउँपालिकाको ६ लाख र समुदायको १ लाख ९० हजारको जनश्रमदानमा एक घर एक धारा निर्माण भएको होे ।

सिले गाउँका ५७ घर धुरीमा ५७ खानेपानीको धारा निर्माण गरिएको कोइरालाले जानकारी दिनुभयो । यस खानेपानी आयोजनाबाट सिले गाउँका तीन सय दुई जना लाभान्वित हुने कोइरालाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *