ओमिक्रोनको आतंक, छिमेकी भारत र सजगता

सम्पादकीय
नेपाली समाज कोरोना भाइरस (कोभिड १९) बाट ह्याङ आउट अझै हुन पाएका छैनन् । दुई वर्ष अघिदेखि सुरु भएको कोरोना भाइरसको भयावह विस्तारै नियन्त्रण उन्मुख त भयो । तर, अझै सम्म पनि ढुक्क हुने अवस्था छैन । घर भित्र लामो लकडाउनमा सकसपूर्ण जीवन बिताएका नागरिक नियमित दैनिकीमा फर्के पनि अहिले फेरि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको आतंकले सबैलाई झस्काएको छ । कोरोनाको बिभिन्न भेरियन्ट आए पनि आम रुपमा पूर्ववत सचेतता, स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा नागरिकले बेवास्ता गरिरहेका छन् । सरकार पनि यो विषयमा त्यति धेरै गम्भीर र संवेदनशील देखिएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६७ जनामा कोरोना परीक्षण गर्दा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना छन् । जसमध्ये ३ हजार ७३ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । उता, छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित धमाधम फेला परिरहेका छन् । सुरुमा भारतमा दुई जनामा फेला परेको ओमिक्रोन भाइरसको संक्रमण फैलिएर संक्रमितको संख्या वृद्धि भइरहेको छ । हेल्थ डेस्कको तथ्यांक अनुसार चालू आर्थिक वर्षको १ साउनदेखि २१ पुससम्म भारतबाट ८५ हजार ५ सय ५८ आएकामध्ये स्वास्थ्य परीक्षण अर्थात् (एन्टिजेन) गर्दा १ सय ८ जनामा पोजेटिभ देखिएको छ । तर, भारतसँग जोडिएको कञ्चनपुरमा कोरोनाको रोकथाम एवम् स्वास्थ्य सुरक्षाको उच्च सर्तकता अपनाइएको छैन । भारतको दिल्लीबाट सबैभन्दा नजिकको नाका गड्डाचौकी हो । झन्डै ३ सय ८० किलोमिटर दुरीमा रहेको दिल्लीमा ओमिक्रोनको संक्रमण बढिरहे पनि भारतसँगै जोडिएको नाकाहरुमा उच्च स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरिँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत बढ्ने जोखिम छ ।

अघिल्ला दुई चरणमा भारतबाटै नेपाल प्रवेश गर्ने नाकामा कडाई नगर्दा नेपालमा जे जसरी कोरोना संक्रमण दर तीब्र गतिमा फैलियो । अहिले पनि नयाँ भेरियन्टको आगमनका बिच समयमै सचेतता अपनाएर नाकाहरुमा यथेष्ट स्वास्थ्य सुरक्षाको उपाय अबलम्बन नगर्ने हो भने त्यसले निकट समयमै भयावहको रुप लिन सक्छ । कोरोनाबाट थलिएका व्यापार व्यवसाय, जीवन दैनिकी बिस्तारै उठ्ने क्रममा छ । यही बेलामा फेरि कोरोना संक्रमण दर फैलिँदै जाने हो भने कैयनको जीवन जोखिममा पर्ने मात्र होइन, लकडाउनको नियति दोहोरिने अवस्था आयो भने सयौंको भविष्य बर्बादी तर्फ उन्मुख हुनेछ । अहिले दैनिक पाँचदेखि साढे पाँचसयको हाराहारीमा भारतबाट मानिस फर्किरहेका नेपाल फर्किरहेको तथ्यांक छ । यसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर आवश्यक स्वास्थ्य सुरक्षा नीति अपनाउन ढिलाई गर्नुहुँदैन । नत्र भोलि पछुताउदै कठीन दिनहरुको सामना गर्नुको अर्को विकल्प हुने छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *