सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) फेरि फैलिँदो क्रममा छ । पहिलो र दोस्रो चरणको भाइरसबाट आततायी बनेको नेपाली समाज पुरानै दैनिकीमा लय उन्मुख भएको केही महिना मात्रै भएको छ । कोरोनाकालको पछिल्लो दुई वर्षमा हजारौ मानिसले अकालमै ज्यान गुमाइसकेका छन् सयौं परिवारले भरलाग्दा अभिभावक, सदस्य र आफन्त गुमाएका छन् । यसो भनौ, यस अन्तरालमा अनगिन्ती मानिसहरुले जीवनका अतिरिक्त धेरै चिज र अवसर गुमाइसकेका छन् । व्यापार व्यवसाय अझै धरापमा छ । सानादेखि ठूला भनिएका मानिसहरुको हैसियत अनुसारका सपना आंकाक्षाहरु एकाएक अस्तव्यस्त बनिरहेका छन् । विश्व समुदायमा कोरोना यसरी आइदियो कि यसले विश्वभरका मानिसहरुको गतिशील पाइला एक पटक मात्र होइन, पटक पटक रोक्ने दुश्प्रयास गरिरहेको छ ।
पछिल्लो केही साता यता कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पुनः विश्व समुदाय भयभित अवस्थामा छ । छिमेकी देश भारतमा त भयावहको अवस्था भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६ सय ३२ संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख आठ हजार संक्रमित भए भने पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनबाटै तीन हजार पाँच सय २३ जना संक्रमित भइसकेका छन् । भारतमा अहिले संक्रमित अवस्थामै पाँच लाख ९० हजार ६ सय ११ छन् । एक दिनमै तीन सय २७ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । छिमेकी देशमा कोरोना यसरी भयावहको रुप लिँदै गर्दा सीमा जोडिएको नेपालमा अझै पनि यथेष्ट तयारी छैन । नेपालमा पनि कोरोना संक्रमण दर फेरि बढ्दो क्रममा देखिएको छ । देशका ठूला नेताहरु समेत संक्रमित बनिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ छ । यही कारण सरकारले बिद्यालय माघ १५ सम्म बन्द गर्न निर्देशन गर्न थालेको छ ।
नेपालमा अहिले जे जति संख्यामा कोरोना संक्रमण दर देखिन्छ, यसमा अझै परीक्षणको दायरा फराकिलो बनाउने हो भने फरक तथ्यांक आउने निश्चित छ । अघिल्ला दुई चरणको कोरोना संक्रमण दर बढ्नुमा भारतसँगको खुल्ला सीमा नाका भएको भोगाई र सिकाई हामीसँग छ । र पनि भारतसँग सीमा जोडिएका नाकाहरुमा यथेष्ट स्वास्थ्य सुरक्षा सतर्कताका पूर्ववत तयारी नभएका ताजा समाचार सार्वजनिक छ । कोरोना जस्तो संवेदनशील रोग रोकथाम, नियन्त्रणका लागि तीन तहको सरकार र स्थानीय प्रशासनको तयारी किन अझै पनि फितलो देखिन्छ ? के फेरि पनि कोरोना संक्रमण एकैपटक फैलिने, भयावहको अवस्था सिर्जना हुने र लकडाउनको अवस्थामा देश पु¥याउने दिन पर्खिरहेको हो ? यदि होइन भने विशेषतः बढी भिडभाड हुने क्षेत्रहरुमा यथेष्ट स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णतः कार्यान्वयनका लागि पहल गरौ । आम जनता पनि कोभिडको प्रभाव कम हुँदै गए पछि सार्वजनिक यात्रादेखि हर क्षेत्रमा मास्क समेत नलगाएर हिँड्ने गरेको पाइएको छ । अतः सरकारदेखि नागरिक सम्म सबैले कोरोनाको नयाँ भेरियन्टको संवेदनशीलता बोध गरेर समयमै सजगता अपनाऔं । जसले गर्दा फेरि पनि भयावह र लकडाउनको अवस्था सिर्जित नहोस् ।