सज्जन कुमार सिंह
प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलनमा महिना दिन अघि ३ दिन जति चितवन बस्दा केहि रोचक, खुसी लाग्दा र दुख लाग्दा दृश्य देखियो । मैले देखेका केही राम्रा र सुधार गर्नुपर्ने बिषयलाई यो आलेखमा समेट्ने प्रयास गरेको छु ।
सबैभन्दा पहिला खुसीका कुरा
१.देशको मध्ये भागमा रहेको, देशको सबैभन्दा बढि बसाँइसराई गरि आउने ठाउँ चितवन बनेको छ । स्वभाविक रुपमा विकास र सेवा सुविधा भए पछि नै त हो सबैको रोजाइमा पर्ने । चितवन पनि देशभरी कै नागरिकको रोजाइमा पर्नु नौलो कुरा भएन । यो ठाउँ प्रति ठूलो आकर्षण छ नै ।
२. यातायातको सुलभता, राम्रा बाटाहरु बनेका र बन्ने क्रम तिब्र रुपमा अघि बढेका रहेछन् । चितवनमा अन्य ठाउँको तुलनामा यातायातको सुविधा बढि छ । भूगोलले पनि साथ दिएकोले पनि यातायात बिकासको द्रुत गति दिन सकियो भने यहाँका नागरिकको चेतना स्तर पनि उच्च भएकाले आफ्नो ठाउँमा बाटो र यातयात सुविधा लैजाने तत्परता रहेको पाइयो ।
२.सुविधा सम्पन्न होटल, लज, पार्टि प्यालेसहरु विभिन्न सभा समारोह, उत्सव र कार्यक्रम गर्न धेरै ठाउँमा हलको अभाव छ । केही दिन अघि बागलुङमा एमाले र अन्य पार्टिका अधिवेशामा आउने ५ सय जना प्रतिनिधिका लागि समेत बस्ने होटल र कार्यक्रम गर्ने हल अभाव भएको तितो सत्य सुनियो । तर चितवन यो मामलामा धेरै अघि छ । सुविधा सम्पन्न हल, पार्टि प्यालेसहरु बनेका र अझै बन्ने क्रममा रहेछन् । जसको कारण यो ठाउँ सभा सम्मेलनका लागि रोजाइमा पर्ने गरेको छ । देशका ठुला साना दल, मेला महोत्सव, तालिम गोष्ठिका लागि पनि यो ठाउँ सबैको रोजाइमा परेको छ ।
३.कृषि, मासु जन्य उत्पादन सागपात तरकारी, धान मकै, तोरी, कुखुरा, अण्डा उत्पादनमा चितवन स्वावलम्बी कुनै ठाउँको आकर्षण हुनुमा उत्पादन र रोजगारीले ठूलो भूमिका खेल्छ । चितवन उत्पादनमा अघि छ । दूध, अण्डा, कुखुरा, तरकारी र खाद्यन्न उत्पादनमा चितवनले अग्रसरता देखाइरहेको छ । सिंचाइको सुविधा र उत्पादनयुक्त माटोले यहाँका कृषक र श्रमजीवीलाई उत्पादनमा जोडिन अझै सघाएको छ । खुसीको कुरा त के भने चितवनले बर्षेनी अर्बाैको निर्यात गर्ने अवस्थामा पुगेको छ ।
४.स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न अस्पताल र राम्रा शैक्षिक सस्थाहरु चितवनमा आकर्षण बढ्नुको कारण मध्ये अर्काे कारण हो स्वास्थ्य उपचार र शैक्षिक वातावरण । नीजि तथा सरकारी अस्पतालमा उपचारका लागि राम्रो सुविधा हुनु सुखद पक्ष हो । पैसा नै तिरेर भएपनि यो ठाउँमा स्वास्थ्य उपचारका लागि विश्वसनिय सस्थाहरु छन् । त्यस्तै शैक्षिक रुपमा पनि राम्रा विद्यालय कलेज स्थापना गरिएका छन् । त्यो क्रम अझै द्रुत गतिमा बढेको छ । वातावरण पनि यो ठाउँमा प्रशस्त रहेछन् ।
६.काम गर्न इच्छा भएका र श्रम गर्न सक्नेलाई काम गर्ने अनेकौ सम्भावना यहाँ देखियो । सडकमा गुड्ने टेम्पो देखि ठेलामा मःम बेच्नेले सम्म राम्रो कमाइ गर्ने गरेका अनुभव सुन्दा बेस्सरी खुसी लाग्यो । किनकि रोजगारीको सम्भावना भएकाले हातमा जाँगर र सीप हुने व्यक्तीलाई हातमुख जोर्न समस्या छैन । ठुला ठुला व्यवसायीहरु पनि यो ठाउँमा प्रसस्त छन् ।
७.यो ठाउँ क्रमिक रुपमा प्रविधिमैत्री बन्दै गएको पाइयो । राम्रा सपिङ महल, इ पेमेन्टको प्रयोग लगायत अन्य प्राविधिक कुराले पनि यहाँ बस्ने नागरिकको चेतना स्तर बढाएको पाइयो ।
८.पर्यटकीय ठाउँहरुको तीव्र विकास हुँदै चितवन पर्यटन, भाषा, भेषभुषा र विभिन्न जातिय पहिचान सहितको साँस्कृतिक, धार्मिक बिबिधताले भरिएको ठाउँ हो । धेरै तिरबाट धेरै थरि मान्छेहरु आएकोले पनि यहाँको सास्कृतिक विविधा छ ।
मठ मन्दिरहरु निर्माण र धार्मिक गतिविधि मार्फत करोडौ जम्मा हुन्छ नै त्यसै माथि विभिन्न पर्यटकिय ठाउँहरुको तिब्र विकासले पनि यहाँको सम्भावना अझै बढेको छ । पाहुना सत्कारका लागि होटल, फन पार्क, स्वीमिङ पूल आदीको विकासले पनि चितवन सबैलाई मन पर्ने गरेको छ ।
राजनीतिक केन्द्र
प्रचण्ड, बादल, विक्रम पाण्डे लगायतका नेताको निर्वाचन क्षेत्र भएकाले पनि चितवन सधै राजनीतिको केन्द्रमा छ । चितवनलाई राजधानी बनाउने प्रचण्डको एक घोषणाले नै यहाँको रौनकता बढेको थियो । सबै ठाउँको सेन्टर भएकाले पनि यो ठाउँर्लाइ राजधानी बनाउने प्रचण्डको भनाइले तरंग नै पैदा गरेको थियो ।
स्थानीय निकायको स्थापना संगै भरतपुर र वरपर ठूलो बजेट भित्रियो र प्रतिनिधीहरुले उल्लेख्य राम्रा काम गरे । यति राम्रो ठाउँ हुँदा हुँदै पनि यो ठाउँमा वर्गिय विभेद छ । यो ठाउँमा जातिय विभेद र आपसी अस्तित्व स्वीकार नगर्ने खालका समस्या पनि छन् । श्रमिक र पूँजी थपिदै गएका व्यक्तिबिच दुरि बढेको छ । धेरै भूमिहिन तथा किसानहरुका ठूला समस्याहरुको सम्बोधन हुन सकेका छैनन् । श्रमिकलाई उचित ज्याला नदिने जस्ता समस्या छन् । यसको अलवा सरकारी अस्पताल र सरकारी निकायको अवस्था त्यति सन्ताष जनक छैन । उत्पादन भएको दूध, तरकारी र खाद्यन्न विचौलीयाको फाइदामा छन् । उनिहरुले उचित बजारको व्यवस्थापन गर्नुपर्ने छ । सरकारी जग्गा हडप्ने, वास्तविक भूमिहिनलाई जग्गा उपलब्ध गराउने जस्ता विषयमा गम्भीर बनिएको छैन ।
धेरै पूँजीवादीको हातमा मुख्य ठाउँहरु बन्देज बनेका छन् । विभिन्न महामारीको समस्या, औलो र लामखुट्टेको टोकाइ, सर्पको खतरा जस्ता विषयमा गम्भीर भएमा चितवन साँच्चै चितवन जस्तो हुनेछ ।