आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको पोलिट व्यूरो सदस्य तथा खेलकूद विभागका प्रमुख लिल बहादुर थापा मगरले पत्रकारहरुले सत्यको अन्वेषण गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल बागलुङको छैठौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सह–इन्चार्ज समेत रहनुभएका नेता मगरले पत्रकारहरुले सत्य तथ्यको अन्वेषण गरेर मात्रै समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
पत्रकारहरु बिचारले जे भएपनि समाचारमा सत्य तथ्य र सन्तुलित हुनुपर्ने उहाँको तर्क रहेको छ । “हाम्रो विचार राजनैतिक आस्थामा हुन्छ, आस्था राख्न पाउनु अधिकार पनि हो” मगरले भन्नुभयो “तर समाचारमा सन्तुलन हुनुपर्दछ, राजनैतिक आस्थाका आधारमा समाचार लेख्न भएन, विचारमा स्पस्टता भएपनि समाचारमा सत्यता हुन आवश्यक छ ।” अहिलेका पत्रकारहरु अध्ययनशिल, प्रविधिमैत्री र व्यावसायिक हुन आवश्यक रहेको नेता मगरको भनाई रहेको छ ।
उहाँले पत्रकारहरुलाई राज्यले सकरात्मक ढंगले हेर्नुपर्ने र पत्रकारले राज्यको सकरात्मक कामहरुको प्रचार गर्दै नकरात्मक काममा सुझाव दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अर्का पोलिटव्यूरो सदस्य मन कुमारी केसीले राजनैतिक परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।