उम्मेदवार मात्र होइन, जनताले पनि जितुन्

सम्पादकीय
देशभर रिक्त भएका स्थानमा उपनिर्वाचन भयो । र अहिले धमाधम मतपरिणाम आउने क्रम जारी छ । कतै सत्तारुढ नेकपाले जितेको छ त कतै नेपाली कांग्रेसले कम्युनिष्ट किल्ला भत्काएको छ । कतै काँग्रेस हार्दा नेकपाका नेता, कार्यकर्ताको हर्क बढाई छ, काँग्रेस कार्यकर्ता रोदन र कुण्ठा व्यक्त गरिरहेका छन् भने कतै नेकपा हार्दा काँग्रेसको हर्र्षोल्लास छ, नेकपाका नेता कार्यकर्ता हारमा आफ्नै भित्रकालाई दोषि करार गरेर रक्षात्मक अवस्थामा छन् । नेपाली राजनीतिमा जित सदावहार, स्थायी भन्ने हुँदैन भन्ने उदाहरण नेपाली जनताले पटक पटक देखाएका छन् र यस पटक पनि राजनीतिकर्मी, तिनका नेता, कार्यकर्तालाई राम्रै सबक हुने गरि चुनावका बेला जवाफ दिएका पनि छन् ।

हर बखत चुनाव हुँदैन । यो निश्चित बर्ष र कालखण्डहरुमा भइरहन्छ । त्यस माध्यम र अवसरबाट कैयन राजनीतिकर्मी सार्वजनिक पद र सुविधाको आलिसन कुर्सीहरुमा पुगे । कतिले ति कुर्सीलाई उपयोग गरेर मान, सम्मान, इज्जन, प्रतिष्ठा आँफु मात्र कमाएनन् । यो समाज र देशका लागि अभूतपुर्व योगदान पनि दिए । र देश प्रतिको दायित्व पनि धेरै हद सम्म निर्वाह गरे । तर, यो मुलुकमा यस्तो पात्र र प्रतिनिधिहरु पनि निर्वाचनबाट छानिए । जो कुर्सीमा पनि पुगे । कुर्सीबाट कति लडे, कति पछारिए । कति फेरी झस्किएर उठे, कति उठ्नै सकेनन् । सायदै अब उठ्नेछन् । तसर्थ निर्वाचन या उपनिर्वाचन लोकतन्त्र या गतिशिल समाजको जनभावनाको लहड मात्र होइन । यो सही समयमा चुनिएर पनि खराब पात्र र प्रवृत्तिको पक्षपोषणको मोहमा लाग्नेहरुलाई सही सबक सिकाउने समय पनि हो । कैयन दिन र समयमा दुर्गम गाउँ, सर्वसाधारण नागरिकको दैनिकीबारे बेखबर भएका नेता, जनप्रतिनिधिहरुलाई चुनाव यस्तो समय र अवसर हो, जुन बखत मुखैभरिको जवाफ दिन्छन् र थप उत्तरदायी हुन आग्रह गर्छन् ।

अहिले बागलुङ सहित देशका बिभिन्न स्थानमा भइरहेको उपचुनावले पनि कुनै न कुनै रुपमा यस्तै सन्देश प्रवाह गरेको छ । एक न एक उम्मेदवारले चुनाव त बर्षौदेखि जितिरहेका छन् नि । तर, बिडम्बना ! जनता हारिरहेको अनुभूति गरिरहेका छन् । अहिले यो क्षेत्रमा कुन पात्रले जित्यो भन्नेले कुनै एक दुई दल या समूह, क्षेत्रलाई खुशी तुल्याउला । तर, अहिले कुन दल, उम्मेदवारले जित्यो भन्ने भन्दा पनि त्यो जितेको उम्मेदवारले जनताले जिताएको जस्तो आभाष र अनुभूति दिलाउने गरि काम गर्न सक्छ की सक्दैन मुल प्रश्न र बिषय यही हो । अतः अहिले कुन उम्मेदवार बिजयी भए, त्यो महत्वपूर्ण होइन । तीनले अब के कसरी काम गर्छन् ? त्यो अर्थपूर्ण हो । सांसद या जनप्रतिनिधि चुनिनुको सार्थकतामा पनि त्यही भेटिनेछ । गण्डकी प्रदेश सभामा प्रवेश पाएका र गाँउ सरकारको वडा तहको नेतृत्व सम्हाल्ने अवसर पाउने बिजयी सबैलाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *