आदर्श अनलाइन, गलकोट
गलकोट नगरपालिका वडा नम्बर ७ मल्म हाल जापानमा रहेका ९ वर्षीय बालकले आफनो जन्मदिनमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष दुर्गा थापाका छाेरा विनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामग्री सहयोग प्रदान गर्नुभएकाे हाे ।
कोभिड १९ का कारण केहि दिनदेखि विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यार्थीलाई विद्यालयमा आमन्त्रण गरेर शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। प्रवासमा रहेका थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीको भविष्यको लागि परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको सहयोगदाता विनम्र थापाले बताउनु भयो ।
विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले शैक्षिक सामाग्री वितरण गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।
जन्मदिनको सुखद अवसर पारेर थापाले प्रगति आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी कक्षा ७ का समिर चोखाल, समिता विश्वकर्मा, कक्षा ६ का सुवास थापा, कक्षा ४ का विवेक विश्वकर्मा, कक्षा ३ का सुवास केसी, कक्षा युकेजीका शिवान्या थापा, अश्मी विश्वकर्मा र कक्षा एलकेजीका प्रवेश परियारलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्री घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले विद्यालयमा पुगेर विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियाे ।