साग शुरुवातको सुखद सन्देश

सम्पादकीय
खेल कुनै एक बिधा र बिषय मात्र होइन । यो राष्ट्रको पहिचान हो, परिचय हो, गरिमा हो । यसर्थ पछिल्ला बर्षमा हामीले खेलकुदको एउटा नारा निरन्तर लगाइरहेका छौ–‘खेल स्वास्थ्यका लागि, खेल राष्ट्रका लागि ।’ हो, खेल स्वस्थ जीवनका लागि जति अपरिहार्य छ, देशको राष्ट्रिय अन्र्तराष्ट्रिय पहिचानका लागि पनि उत्तिकै जरुरी छ । नेपालले युवाहरुको सपनाको देशको रुपमा लिने अमेरिकालाई अरु केही जित्न सक्दैन । तर, नेपालले क्रिकेटमा अमेरिकालाई पनि हराउने सामथ्र्य राख्छ । र नेपाल भन्ने राष्ट्र भुगोलमा सानो भए पनि खेलमा उत्कृष्ट छ भन्ने बुझाई र सन्देश अमेरिकन नागरिकमा पुगेको छ । भारतको क्रिकेटले सिंगो बिश्व तरंगित गर्छ, ब्राजिल, पोर्चुगलले फुटबल मार्फत बिश्व माझ देश चिनाएको छ । यसर्थ खेल सामान्य मनोरञ्जन र समय बिताउने अस्त्र मात्र होइन, यो अपरिहार्य विकास गर्नुपर्ने बिधा हो ।

खेलको बुझाई, अपरिहार्यता र आकर्षणका बिषयमा अझै पनि संकिर्णता र बिरोधाभाषहरु भइरहेका बेला मुलुकको संघिय राजधानी काठमाडौंमा सागको भव्य समारोहबीच उद्घाटन भयो । दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । नेपालको आयोजनामा भइरहेको सागको उद्घाटन कार्यक्रम, भव्य तयारी, संयोजन, प्रस्तुती र व्यवस्थापनले सबै मुलुकको ध्यानाकर्षण गर्न सफल रह्यो । कारण, बिश्वकपको उद्घाटन कार्यक्रमको झलक जस्तो लाग्ने नेपालको बिबिधता सहितको प्रर्दशन साँच्चिनै मन लोभिने खालको थियो । नेपाली भएर एउटा नागरिकले त्यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्दा नेपाली मन, नेपाली पन त्यो कार्यक्रममा प्रशस्त भेटिन्थ्यो । र मौलिकता सहितको प्रस्तुति, अभुतपूर्व व्यवस्थापनले नेपाली हुनुको गौरव अनुभूति भइरहन्थ्यो ।

साग आयोजना र उद्घाटनबाट नेपालले चाहेको बखतमा गर्न सकिने रहेछ भन्ने प्रष्ट सन्देश दिएको छ । यसका अतिरिक्त खेल पूर्वाधार, खेलाडीहरुको अनुभव आदान प्रदान, पर्यटन प्रर्वद्धन अरु थुप्रै प्रत्यक्ष परोक्ष लाभ नेपालले लिएको छ । थप लिन सक्ने प्रशस्त सम्भावना र आधारहरु छन् । साग आयोजनाकै कारण राजधानीको रंगशालामा मात्र होइन, गण्डकी प्रदेशको पोखरा सहित बिभिन्न स्थानमा प्रयाप्त पूर्वाधारहरु समेत निर्माण गरिएका छन् । यो छोटो समयमै गरिएको महत्वपूर्ण उपलब्धि हो । यी र यस्ता पूर्वाधार यति छोटो समयमै निर्माण गर्न सक्ने क्षमता हामीसँग छ भन्ने सन्देश पनि अर्को उपलब्धि हो । अब अहिले साग आयोजनाका निमित्त निर्माण गरिएका पूर्वाधारहरुको यथोचित संरक्षण, व्यवस्थापन गरेर खेलमैत्री बातावरण तयार गर्न भोलीका दिनमा अनगिन्ती खेल उपलब्धि हासिल हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *