म्याग्दीमा लुलाङ हुँदै गुर्जा जोड्ने पैदलमार्ग हिउँले पुर्‍यो

आदर्श अनलाइन, म्याग्दी
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ ।

लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताए ।

‘पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,’ उनले भने, ‘खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ।’

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ । गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो ।

लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जङ्गल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ ।

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ । घरभित्रै आयो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् ।

चरनका लागि जंगलमा लैजान सकेका छैनन् । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । गत पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *