माथि गठबन्धन : तल कुटाकुट

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारको बर्हिगमनका लागि मुलुकका सबै मुख्य राजनीतिक दल गठबन्धनमा जुटे । स्थानीय तहमा एमालेसंग राम्रो हिमचिम भएका राजनीतिक दलहरु पनि केन्द्रको सत्तामा एमाले विरुद्ध उभिए । हिजो सबै बाम एक ठाम भनेर निर्वाचनमा होमिएका बामपन्थी शक्तिहरु एमाले नेतृत्वको सरकार बर्हिगमनका मुख्य कारक बने ।

तर पछिल्लो समय गठबन्धनमा पनि धरमर देखिदै जान थालेको छ । माथि गठबन्धक गरेका दलका तल्लो तहका कार्यकर्ताहरु एकआपसमा भिड्न शुरु गरेका छन् । विशेष गरी बागलुङ जिल्लामा बामपन्थी शक्तिहरुबीचको सहकार्य विगतदेखिकै अभ्यासका रुपमा स्थापित छ । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच २०५१ सालदेखि नै निर्वाचनमा सिट बाँडफाँड गर्ने अभ्यास शुरु भएको हो ।

लामो समयदेखि राज्य सञ्चालनका लागि हुने निर्वाचन मात्रै होइन, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, खानेपानी, वन लगायत सामाजिक संघ संस्थामा समेत एमाले, राजमो र नेकपा माओवादी केन्द्रका बीच सहकार्य हुदै आएका छन् । २०७४ को प्रदेश र संघीय निर्वाचनमा ३ वटा शक्तिलाई सिट बाँडफाड गरी निर्वाचनमा होमिएका बामशक्तिहरु पनि केन्द्रमा बनेको गठबन्धनका कारण अन्यौलमा छन् ।

स्थानीय अन्तरविरोध कांग्रेससंग छ, गठबन्धन जता भए पनि कांग्रेसलाई बामपन्थीले र बामपन्थीलाई कांग्रेसका तल्लो तहका कार्यकर्ता र समर्थकले मत दिदैनन् । नेकपा एमालेसंग सहकार्य त परै जावस हेर्न समेत नहेर्नु भन्ने निर्देशन छ, राष्ट्रिय जनमोर्चाका एक नेताले भने–‘माथिको निर्देशन जस्तो भएपनि तलको अवस्था त्यस्तो छैन, एमाले र हामी नमिल्दा धेरै ठाउँमा कांग्रेसले चुनाव जित्ने अवस्था छ ।’

केन्द्रमा जे भए पनि स्थानीय तहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको प्रतिस्पधी शक्ति नेपाली कांग्रेस नै हो, नेकपा एमालेका एक नेताले भने–‘स्थानीय अन्तरविरोध कांग्रेससंगै भएकाले हामी कही न कही नमिली सुखै छैन ।’

पछिल्लो समयमा माथि गठबन्धन गरेर सत्तारुढ बनेका राजनीतिक दलका कार्यकर्ता भने तल कुटाकुटमा उत्रिन थालेका छन् । बागलुङको दक्षिणी भेग विगतदेखि नै राष्ट्रिय जनमोर्चा र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुने क्षेत्रका रुपमा परिचित छ । चुनावमा मात्रै होइन, स्थानीय मेला महोत्सवमा समेत कांंग्रेस र राजमो समर्थकहरुबीच लडाई झगडा हुदै आएका छन् ।

यसै सन्दर्भमा पछिल्लो पटक जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरामा सञ्चालित जैमिनी महोत्सवका समयमा दुवै पक्षबीच कुटाकुट भएको र आफ्ना कार्यकर्ता कुटिएको दुवै पक्षले दावी गरेका छन् । जैमिनीमा भएको घटनामा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै नेपाली कांग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले माघ ३ गते विज्ञप्ती प्रकाशित गरी घटनामा संलग्नलाई कार्वाहीको माग गरेका थिए ।

शेरचनले जैमिनी नगरपालिका वडा नं. ४ निवासी नेपाल तरुण दल जैमिनी नगरपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधि लेख बहादुर थापा ‘रोहित’ माथि माघ २ गते राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले दिन दहाडै कुश्मिसेरा बजारमा सांघातिक आक्रमण गरेर मरणासन्न अवस्थामा पु¥याएको जनाएका थिए । उनले घटनालाई आततायीको संज्ञा दिदै निन्दनीय घटनामा संलग्न अपराधीहरुलाई यथासिघ्र कारवाही अगाडि बढाउन राज्य प्रशासनसंग माग गरेका थिए ।

यता राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले माघ ६ गते प्रेस व्यक्तव्य जारी गरी जैमिनी महोत्सवको सन्दर्भमा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा मेला हेरिरहेका पार्टीका कार्यकर्ता जैमिनी नगरपालिका वडा नं. १० राङखानी निवासी लक्ष्मण श्रीसमाथि नेपाल तरुण दल जैमिनीका अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि जैमिनी–४ सर्कुवा निवासी रोहित भनिने लेख बहादुर थापा लगायतका कार्यकर्ताले कुटपिट गरी गंभिर घाइते बनाएका जनाएका छन् । घाइते लक्ष्मण श्रीसले आफुमाथि आक्रमण भएको जानकारी गराउदा प्रहरीले वेवास्ता गरेको समेत पोखरेलको विज्ञप्तीमा उल्लेख छ ।

सोही दिन लेख बहादुर थापाको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरु जैमिनी–५ बिनामारेका ठग बहादुर क्षेत्री र टंक बहादुर विक, जैमिनी–४ सर्कुवाका नविन थापा, किरण थापा, अस्मित उचै ठकुरी, अशोक उचै ठकुरी र मनिष शाही, जैमिनी–१ कुश्मिसेराका विकास शर्मा र अशोक शर्मा लगायतका अराजक समुहले जैमिनी–१ का बालकृष्ण शर्माको ग ३ ख ५८८८ नम्बरको गाडी लिएर राङखानी ओखले गाउँमा पुगेर होहल्ला गर्दै सुतेका मान्छेलाई थर्काउने, ढुंगामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिविधि गर्दै सुति रहेका लक्ष्मण श्रीसलाई गुण्डागर्दी शैलीमा घरबाट बाहिर निकाली उनीसहित उनकी आमा र भाउजुलाई लछार पछार गर्दै कुटपिट गरेको जनाएका छन् ।

राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको कुटपिट र आरोप प्रत्यारोप पछि बागलुङमा माथि गठबन्धन तल कुटाकुटको चर्चा चल्न थालेको छ । आततायी र अराजकको आरोप लगाएका राजनीतिक दलहरुबीच आगामी निर्वाचनमा सहकार्य हुने कुरामा जैमिनीवासीहरु आशंका व्यक्त गर्दछन् । केन्द्रका नेताहरु आगामी सबै निर्वाचनमा गठबन्धन जोगाउने ध्याउन्नमा लागि रहेको समयमा स्थानीय स्तरमा हुने कुटपिट र झगडाले सहकार्य जोगिनेमा शंका देखिन थालेको छ ।

कांग्रेसी गुण्डागर्दी बन्द गर्न राजमोले चेतावनी दिएको छ भने कांग्रेसले आततायीलाई तत्काल कार्वाही गर्न भनेको छ । स्थानीय स्तरमा हुने यस्ता आरोप प्रत्यारोपले सहकार्यको वातावरण सहज नभएको प्रतित हुन्छ । आगामी बैशाखको अन्तिमसम्ममा स्थानीय निर्वाचन सम्पन्न गर्नु पर्ने कानुनी वाध्यता छ, संभवत केही दिनमा निर्वाचन घोषणा समेत हुने अवस्था छ, राजनीतिक दलहरु निर्वाचनमा एक्लै वा गठबन्धन गरेर होमिने तयारीमा छन् । यस्तो अवस्थामा स्थानीय तहमा हुने पार्र्टी कार्यकर्ताहरुबीचको लडाई झगडाले माथिको गठबन्धनमा धक्का लाग्ने निश्चित प्राय छ ।

नेपाली कांग्रेसका नेतालाई मत दिन भन्दा पार्टी छोडेर बस्छु भन्दै राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सभामा निर्वाचित कृष्ण थापाको क्षेत्रमा कांग्रेस र राजमोका कार्यकर्ताबीचको लडाईले माथिको गठबन्धनमा थप धक्का पुग्ने स्थानीय बताउछन् । कांग्रेस कार्यकर्ताहरुसंगको राजमोको लडाईले अन्तत बागलुङमा बामपन्थीहरुबीच नै सहकार्य सही थियो भन्ने निष्कर्ष निस्कने र कथमकदाचित माथिको गठबन्धन कायम रहेमा पनि गठबन्धनलाई घात प्रतिघात हुने खतरा छ ।

स्वभाविक गठबन्धन भन्दा पनि सत्ता स्वार्थको गठबन्धन धेरै नटिक्ने राजमोका एक कार्यकर्ताले बताए । बामपन्थीहरुबीचको सहकार्य स्वभाविक हो, स्थानीय अन्तरविरोधका आधारमा पनि नेपाली कांग्रेस र राजमोबीचको गठबन्धन अप्राकृतिक मात्रै होइन, सत्ता स्वार्थको चरम उत्कर्ष हो, उनले नाम नबताउने शर्तमा बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *