कोभिडको डरलाग्दो पक्ष

सम्पादकीय
कोभिड १९ को तेस्रो भेरियन्टले सिंगो देश मात्र होइन, विश्व समुदाय समेत आततायी छ । कोरोनाको दोस्रो भेरियन्ट नियन्त्रण उन्मुख हुनै लाग्दा आएको नयाँ भेरियन्टबाट अहिले नेपालमै दैनिक ११ हजार बढी कोरोना संक्रमित बनिरहेका छन् । संक्रमणबाट ग्रसित अधिकांश नागरिकले सकसपूर्ण समय बिताइरहेका छन् । यद्यपि, यसपटक मृत्युदर भने विगतको तुलनामा निकै कम छ । यसो भन्दैमा अहिले जुन संक्रमितको दैनिक तथ्यांक देखिन्छ, त्यो भन्दा ठूलो संख्या कोरोनासँग पुरै मिल्दोजुल्दो लक्षण भएका तर गम्भीर अवस्थामा नपुग्दा सम्म परीक्षणमा नजाने छ । यो अहिलेको निकै खतरानक विषय हो ।

खतरानक किन हो भने एक त स्वयम् व्यक्तिका लागि अन्तिम समयमा परीक्षणमा जाँदा उपचारमा ढिलाई भइसकेको हुन सक्छ भने अर्को तर्फ त्यो व्यक्तिबाट परिवारका सदस्य, समाजका अरु नागरिकलाई पनि कोरोना फैलिसकेको हुन सक्छ । अहिले चाहे ठूला शहरमा होस् या गाउँ घरमा होस्, दुई किसिमको अतिवादी सोच पनि उत्तिकै व्याप्त छ । एक सामान्य रुघाखोकी लागे पनि कोरोना संक्रमण भयो भनेर डराउने, आत्तिने छन् भने अर्को तर्फ ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यान दुख्ने भएर पनि यो त सामान्य हो, पहिले पनि हुन्थ्यो, अहिले पनि भएको छ आफै ठिक हुन्छ भन्ने ‘ओभर कन्फिडेन्स’ देखिन्छ । जसले कतिपयको त ज्यानै लिइसकेको अप्रिय घटना पनि हाम्रै सामुन्ने देखिएको छ ।

अहिलेको समय विश्वभरका मानव समुदायका लागि निकै खराब चलिरहेको छ । यो समय मुख्यतः बाँच्नु सबै भन्दा ठूलो कुरा बनिरहेको छ । कमाउनु, रमाउनु सबै एैजन विषय जस्ता लागिरहेको छ । किनभने विगतमा भूकम्पले धनाढ्देखि शक्तिशाली सत्तासिनहरुलाई पनि एकैपटक सडकमा ल्याइदिएको थियो । अहिले कोभिड १९ ले पनि सबैलाई आफ्नो हैसियत, अहम्ता, गतिशील पाइलाबारे सोच्न बाध्य बनाइरहेको छ । तर, अझै पनि कोभिड सँगको खेलवाड जारी छ । सरकारले पनि अझै गम्भीरताका साथ यसको रोकथाम, नियन्त्रणमा प्रभावकारी काम गर्न सकिरहेको छैन । नागरिक पनि जिम्मेवार देखिन्नन् । कोरोना खोप लगाउने कार्य त जारी छ । यो अहिले नै सबै नागरिकको पहुँचमा छैन । त्यसैले, अहिलेको उपर्युक्त विकल्प भनेको पूर्ववत सचेतता, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हो । यसका साथै लक्षण देखिएका र संक्रमण भएकाहरु स्वंयम् आइसोलेट भएर अनिवार्य बस्नु हो । यसमा सरकारलाई मात्र गाली गरेर हामी सबैले आफ्नो जिम्मेवारी पनि नबिर्सौै । एक सरकार या कसैको एकल प्रयासबाट कोरोनाको रोकथाम र नियन्त्रण सम्भव नहुने विषय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *