चिसोले तराईमा जनजीवन कष्टकर

आदर्श अनलाइन, सर्लाही
सर्लाही सहित तराईमा बढेको अत्यधिक चिसोले जनजीवन कष्टप्रद बन्न थालेको छ । एक्कासि मौसममा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेसका जिल्लामा जाडो बढेको हो । घाम नदेखिएर थरथरती मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्लो एक सातादेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत पाइएका छैनन् । सन्ध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर घरमै बस्नु र्पने बाधेयतामा यहाका बासिन्दा रहएका छन । विपन्न परिवारसँग न्यानो लुगा तथा उचित वासस्थानको अभाव हुने भएकाले उनीहरूलाई चिसोको प्रकोपले बढी सताएको छ । स्थानीय तहले आफ्ना जनतालाई चिसोबाट बचाउन पहल नगर्नु लाजमर्दो कुरा भएको नागरिक समाज सर्लाहीका अगुवा उग्रकान्त झाको भनाइ छ । जिल्लाका पालिकाहरूको बेवास्ताले गर्दा स्थानीय विपन्न, दैनिक मजदुरी गर्ने परिवारलगायतलाई जाडोका कारण दैनिकी चलाउन गाह्रो भएको छ ।

चिसो बढ्दै गएकाले विपन्न तथा दलित बस्तीमा वितरण गर्नका लागि काठको व्यवस्थापनमा छिट्टै जुट्ने बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो । गरिबीमाथि चिसोले आक्रमण गर्दा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू धेरै प्रभावित बनेका छन् । सर्वसाधारणले कतिपय ठाउँमा आगो बालेर चिसो भगाउने प्रयास पनि गरिरहेका छन् । शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको किसानले चिन्ता व्यक्त गरेका छन् । चिसो धेरै बढेपछि सडकमा सर्वसाधारणको हिँडडुल पातलिन थालेको छ । सवारीसाधन कम मात्रामा सडकमा देखिन थालेका छन् । चिसोले सार्वजनिकस्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम भएको छ । अत्यधिक जाडो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्था नभएकाहरूकोे कन्तविजोग भएको छ । बाक्लो हुस्सुका कारण नजिकको दृश्य पनि देख्न सक्ने अवस्था नभएपछि सवारी चालक समस्यामा परेका छन् । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढेको भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने र दुर्घटनाको जोखिम बढेकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ । मौसममा आएको परिवर्तनसँगै तापक्रममा नियमित गिरावट आउँदा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने सरोकारवालाले सुझाएका छन् । मौसम प्रतिकूल हुँदा तराई यस क्षेत्रमा हवाई सेवा पनि प्रभावित बन्न थालेको छ । लगातारको चिसोले बस्तीबस्तीमा बिरामी हुनेको संख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी बढेका छन् । गरिब बस्तीका वृद्धवृद्धा, स–साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेको चिकित्सकले बताएका छन् । चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *