एउटै वडाबाट चार करोडको सुन्तला बिक्री

आदर्श अनलाइन, तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ । महत परिवारले यो वर्ष सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् । महत आफैँले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला पु¥याएर बिक्री गर्नुभएको हो । ‘यसपालि राम्रो फलेको थियो । बेलाबेलामा वर्षात हुँदा कुहिएर धेरै झरे । पानी नपरेको भए अझ धेरै कमाई हुन्थ्यो होला’, उहाँले भन्नुभयो । सुन्तला बिक्रीबाट भएको कमाइबाट करिब पाँच लाख रुपैयाँ त गोडमेल, खनजोत, औषधिउपचार र मलजलमा खर्च हुने उहाँले बताउनुभयो ।

जरेबरका दुर्गा भुजेल पनि यसपालि सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिन सफल हुनुभयो । १३ लाख ९० हजार रुपैयाँको सुन्तला उहाँको बगानबाटै बिक्री भएको हो । आम्दानी भएको रकमबाट दुई लाख रुपैयाँ गोडमेल र खनजोतका लागि छुट्याएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी रकम केही घर खर्चमा सकिन्छ त केही रकम बचतसमेत हुन्छ । ‘कोदो मकै लगाउन छाडेर बारीभर सुन्तला मात्र लगाएका छौँ । आम्दानीको मुख्य स्रोत नै सुन्तला बनेको छ पछिल्ला वर्षहरूमा’, उहाँले भन्नुभयो ।

बगानको सुन्तलाले बजार पाउनलाई कुनै समस्या नरहेको भुजेलले जानकारी दिनुभयो । ‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ’, उहाँले अगाडि थप्दै भन्नुभयो, ‘सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौँ । मिहिनेतअनुसार मूल्य नपाएको जस्तो लाग्दछ ।’ महत र भुजेल प्रतिनिधि किसान मात्र हुनुहुन्छ । यी दुईले जस्तै शुक्लागण्डकी नगरपालिका-११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैचे, ज्याङलादीका हरेक घरले सुन्तला विक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गर्छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ ।

सुन्तलाका लागि हावापानी र माटो उपयुक्त भए पनि यस क्षेत्रका किसानले ६० को दशक पछाडि मात्र व्यावसायिक सुन्तला खेती थालेका हुन् । सुन्तला खेतीमा लागेपछि किसानको जीवनस्तर उकासिएको सुन्तला जात फलफूल ब्लक सञ्चालक समिति नाम्सीकोटका अध्यक्ष जगत महत बताउनुहुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको नाम्सीकोट सुन्तला ब्लकमा १३३ किसान आबद्ध छन् । समूहमा आबद्ध हरेक किसानले कम्तीमा एक लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म बर्सेनि आम्दानी लिने उहाँले बताउनुभयो ।

यो वर्ष झण्डै चार करोड रुपैयाँको सुन्तला ब्लक क्षेत्रबाट बाहिरिएको उहाँले जानकारी दिनुभयो । विगतका केही वर्षयता बर्सेनि चार करोड रुपैयाँकै हाराहारीमा सुन्तला बिक्रीबाट किसानले आम्दानी लिँदै आएका छन् । ‘कोदो मकैको खेती गर्ने चलन त यतातिर हराइसक्यो । सबै सुन्तला खेतीमा रमाएका छन् । आम्दानी राम्रो भएपछि सबैको दिलोज्यान सुन्तला खेतीमा छ’, ब्लक सञ्चालक समितिका अध्यक्ष महतले भन्नुभयो । उहाँका अनुसार गाउँका अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्केर सुन्तला खेतीमा रमाइरहेका छन् । सुन्तलाका विरुवाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैँचे, ज्याङलादीका हर घरमा सुन्तलाको सानाठूला बगान छ । मंसिरदेखि १५ माघसम्म सुन्तलाले पहेँलपुर देखिन्छ यो क्षेत्र । सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरूको प्रतिस्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौंको कालीमाटी बजारबाहेक अन्त कतै जाँदैन । सुन्तलाले मनग्य आम्दानी मात्रै दिएको छैन स्थानीयलाई रोजगारीको अवसरसमेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफूल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देल बताउनुहुन्छ । ‘सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, सडकसम्म बोकेर ल्याउने र लोड गर्नलाई स्थानीयले रोजगारी पाउँछन् । टिपेर सकिएपछि फेरि एक महिना गोडमेल गर्नलाई पनि रोजगारी सिर्जना हुन्छन्’, उहाँले भन्नुभयो । सुन्तला टिप्न र गोडमेल गर्न जानेले दैनिक सात सय रुपैयाँसम्म ज्याला पाउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *