आदर्श अनलाइन, पर्वत
जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी निषेधाज्ञाको आदेश विपरित कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै पर्वतमा पार्टी प्यालेस सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वतकाे कुश्मा बजारमा सञ्चालित युनिभर्सल पार्टी प्यालेसका सञ्चालक प्रेम गुरुङ अशोकलाई प्रहरीले पार्टी प्यालेसबाटै नियन्त्रणमा लिएको हो । पार्टी प्यालेसमा पर्वत जेसिजले २५ औँ अधिवेशन उद्घाटन समारोह सञ्चालन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले गत ५ गते देखि पर्वतमा निषेधाज्ञाको आदेश जारी गरेको थियो । जस अन्तर्गत माघ १५ गते सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने सूचीमा पार्टी प्यालेस पनि समावेश गरिएको थियो ।
उक्त आदेशलाई उल्लंघन गरेर ४० देखि ४५ जनासम्मको सहभागितामा कार्यक्रम सञ्चालन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रदिप पौडेलले बताए । पर्वतमा परीक्षणका क्रममा दैनिक ७२ देखि ८० प्रतिशतसम्म कोभिड १९ को संक्रमण देखिएको छ ।