युरो कप छनोटमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी – चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि फराकिलो जित हासिल गरेको छ ।
लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को शानदार जित हासिल गरेको हो ।
घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पुरा गर्दा पोर्चुगल खेलमा ३–१ ले अघि बढ्यो । रोनाल्डोको गोलको श्रृखंला यतिमै रोकिएन । रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे । अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए ।
पोर्चुगलका लागि ९३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले समग्रमा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरे । उनी आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोड्दै युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले २५ गोल पुरा गरेका हुन् ।
प्रभावशाली जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *